
कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो जहाँ एक घटना, कारण, अर्को घटना, प्रभावमा जान्छ। एक कारण एक उत्प्रेरक, एक उद्देश्य, वा एक कार्य हो जसले प्रतिक्रिया ल्याउँछ, जबकि प्रभाव एक अवस्था, घटना, वा एक वा धेरै कारणहरुद्वारा उत्पन्न परिणाम हो । दुई घटनाहरू एकै समयमा र एउटै ठाउँमा हुन्छन्, र एउटा घटना तुरुन्तै अर्को भन्दा अगाडि हुन्छ । कारण र प्रभाव सम्बन्धहरू अनियमित छैनन्, तर तिनीहरूमा नेतृत्व गर्ने कारकहरूद्वारा निर्धारण गरिन्छ ।
कारण–र–प्रभाव सम्बन्धले वर्णन गर्दछ कि कसरी एउटा घटना (कारण) अर्को घटना (प्रभाव) मा हुन जान्छ । यो आधारभूत अवधारणा विभिन्न क्षेत्रहरूमा विभिन्न घटनाहरू बुझ्नको लागि महत्वपूर्ण छ। कारण पहिचान गर्नाले प्रभावको भविष्यवाणी गर्न र सम्भावित रूपमा नियन्त्रण गर्न मद्दत गर्दछ । यो नोट गर्न महत्वपूर्ण छ कि कारणहरूले धेरै प्रभावहरू हुन सक्छन्, र प्रभावहरू धेरै कारणहरूबाट उत्पन्न हुन सक्छन्, प्रायः जटिल चेनहरू वा प्रभावको जालहरू बनाउँछन् । यी सम्बन्धहरू बुझ्नाले कुनै पनि समस्या समाधान गर्न, निर्णय लिन, र वैज्ञानिक विश्लेषणको लागि महत्वपूर्ण हुन्छन्।
सारमा भन्नुपर्दा कारण र प्रभाव सम्बन्धमा, एउटा घटना (कारण) ले अर्को घटना (प्रभाव) निम्त्याउँछ। यहाँ कारण र प्रभाव सम्बन्धका केही उदाहरणहरू प्रस्तुत गरिएका छन् :
तालिका १ः कारण र प्रभावको सम्बन्ध विश्लेषण
कारण प्रभाव
१.खराब पोषण वजन घट्नु र थकान हुनु
२.धेरै टेलिभिजन हेर्नु प्रत्यक्ष रूपमा आँखाको तनाव निम्त्याउँछ वा अप्रत्यक्ष रूपमा स्वास्थ्य समस्याहरू निम्त्याउँछ
३.तनाव, निर्जलीकरण वा पिनास संक्रमण टाउको दुख्ने रोग हुनु
४.विद्यालयको लागि आफ्नो खाजा प्याक गर्न बिर्सनु दिनमा भोकै बस्नु
५.परीक्षाको लागि कडा अध्ययन राम्रो ग्रेड प्राप्त गरेर उतिर्ण हुनु
६. निरङ्कुशता, भ्रष्टाचार र वेरोजगारी जन आन्दोलन
७. दमन प्रतिरोध
साङ्ख्य प्रणालीको महत्वपूर्ण सिद्धान्त सत्कार्यवाद हो । सत्कार्यवाद सत् ,कार्य र वाद गरी तीन शब्द मिलेर बनेको हुन्छ । यहाँ सत्को अर्थ हो ‘विद्यमान हुनु’ । कार्य भनेको कार्य नै भयो भने वाद भनेको सिद्धान्त हो । कारणमा पहिल्यैबाट कार्य विद्ममान हुनुलाई अर्थात् आफ्नो उत्पत्तिभन्दा पहिले नै कार्य कारणमा विद्यमान हुन्छ भन्ने मान्यतालाई सत्कार्यवाद भनिन्छ । कार्य कुनै नयाँ चिज होइन । कारण भित्रै रहेको कार्यको नयाँ प्रकारले अभिव्यक्ति मात्र हो । बुद्ध दर्शनमा यसलाई प्रतीत्यसमुत्पाद सिद्धान्तको रुपमा व्याख्या गरिएको छ । कुनै चिजमा निर्भर भएर अर्को कुनै वस्तु उत्पन्न हुनुलाई प्रतीत्यसमुत्पाद भनिन्छ ।
कारण र कार्यको सिद्धान्तलाई विशेष गरेर दुई प्रकारले व्याख्या गरिन्छ – सत्कार्यवाद र असत्कार्यवाद । असत्कार्यवाद भनेको सत्कार्यवादको विपरीत हो । कारण नै कार्यका रुपमा देखिने होइन अर्थात् कार्य कारणमा लुकेर बसेको होइन वस्तुतः कार्य नयाँ बन्ने हो । विशेष गरेर न्यायवैशेषिक दर्शनले यो सिद्धान्त अङ्गकिार गरेको पाइन्छ । न्याय दर्शनले कार्यको व्याख्या गर्दा ‘प्रागभाव प्रतियोगी’ बनाउने गर्दछ । अर्थात् प्रारम्भिक अवस्थामा कार्यको अभाव हुने गर्दछ । तर यस प्रकारको मान्यताको विपरीत साङ्ख्य दर्शनले सत्कार्यवादको सिद्धान्तका आधारमा आफ्नो दर्शनको व्याख्या गर्दछ । अर्थात् कार्य कुनै नयाँ उत्पत्ति होइन अपितु यो कारणमा नै लुकेर बसेको हुन्छ । त्यसको अविर्भाव हुने मात्र हो । जस्तै माटोबाट नै घैटो उत्पत्ति हुने हो । घैंटो भनेको पनि एक प्रकारको माटो नै हो र तर त्यसलाई आमीले एउटा नयाँ घैंटोका रुपमा बुझ्ने गर्दछौं ।
यस सिद्धान्तको महत्वपूर्ण धारणा थियो –‘सत् कार्यम् असत् अकारणार्थम्’ अर्थात् कुनै पनि अस्तित्वमा रहेको चिजको कारण अवश्य हुन्छ । बिनाकारण कुनै पनि चिजको अस्तित्व सम्भव हुन सक्दैन । शून्यबाट कुनै चिजको उत्पत्ति सम्भव छैन । अनस्तित्वबाट अस्तित्वको उदय हुनु सम्भव नै हुँदैन । सुष्टि एउटा त्यस्तो अभिव्यक्ति हो, जो पहिलेबाट नै अस्तित्वमा थियो ।
साङ्ख्य दर्शनका अनुसार कुनै पनि कार्यमा देखिने गुणहरु कारणमा पनि विद्यमान हुन्छन् । साङ्ख्यकारिकामा विभिन्न उदाहरणहरुबाट स्पष्ट पार्दै भनिएको छ – दुधबाट नै दही बन्न सम्भव छ । पानीबाट दही बन्नु सम्भव छैन । कुमालेले माटा भाँडाहरु बनाउन सम्भव छ । कारणले आफ्नो प्रभावलाई पनि उत्पादन गर्दछ । यसरी कारण र प्रभाव अभिन्न रुपमा जोडिएका विषयवस्तु हुन् । प्रभाव कारणमा त्यसरी नै विद्यमान रहेको हुन्छ, जसरी तिलको तेल तिलको दानामा नै निहित हुन्छ ।
इतिहासले प्रमाणित गरिसकेको छ कि राजतन्त्र स्थिरता होइन, अस्थिरताको कारक नै रहँदै आएको छ । अब राजसंस्था फर्कदा यहाँ कुनै चमत्कारीक विकास भई देश र जनताको हित हुने सम्भावना छैन । अझ देशमा झन रक्तपातपूर्ण हिंसा बढ्नेछ ।
मानव प्रयासबाट कुनै नयाँ चिजको निर्माण गर्ने होइन । उसले मात्र त्यो प्रभावलाई प्रकट गर्दछ, जो कारणमा निहित रहेको हुन्छ । त्यतिमात्रै नभएर समस्त जगत् नै कारण र कार्यको लामो शृङ्खलाद्वारा जोडिएको हुन्छ । जहाँ कारणताको प्रक्रिया प्रकृतिभित्र नै रहेको हुन्छ । सत्कार्यवादलाई स्पष्ट पार्दै साङ्ख्य दर्शनले भन्दछ – कारण अव्यक्त अर्थात् अमूर्त अवस्थामा हुन्छ । जसलाई हामी देख्न पनि सक्दैनौं । जबकि कार्य व्यक्त अर्थात् मूर्त अवस्थामा हुन्छ ।
द्वन्द्ववादी दृष्किोण अनुसार इतिहासको प्रत्येक कालखण्डमा द्वन्द्व रहेकै हुन्छ । द्वन्द्वकै कारण समाजको रुपान्तरण र नया¤ व्यवस्था स्थापित भएको हुन्छ । कुनै परिवार, समुदाय, समाज, राष्ट्र सबै तहमा द्वन्द्व, शंङ्घर्ष तथा अन्तर्विरोध रहेको हुन्छ । यस प्रकारको द्वन्द्वले सामाजिक एकता र व्यवस्थालाई विखण्डित गर्नुभन्दा पनि एकता, विकास र परिवर्तनका लागि योगदान पु¥याएको हुन्छ । जाति व्यवस्था, विवाह, पारिवारिक ढाँचा, राजनीतिक व्यवस्था, अर्थव्यवस्था, धर्म आदिका मूल्य–मान्यतामा आएको परिवर्तनको मूल कारण द्वन्द्व नै हो । सत्तामा रहेका राजनीतिक नेतृत्वले बुद्धिमानीपूर्वक यो द्वन्द्व रुपान्तरण गर्नु पर्ने हुन्छ ।
यो सिद्धान्त अहिलेको राजनीतिक परिघटना जो भइरहेको छ त्यसमा पनि लागु हुन्छ । हाम्रो देशमा प्रतिगमनकारी शक्ति राजसंस्था फर्काउन सडक आन्दोलन गरीरहेको देखिन्छ । देशमा चरम भ्रष्टाचार, विधिको शासनको कमी, प्रभावकारी सेवा प्रवाहमा कमी, वेरोजगारी, चर्को महङ्गी, निश्चित राजनीतिक दलका नेता तथा कार्यकर्ताको हरेक तहमा हालीमुहाली हुनु, राम्रो मानिस भन्दा हाम्रो मानिस नियुक्ति गर्ने परिपाटी, उद्योग व्यवसायको विकास हुन नसक्नु, कृषिको व्यवसायिकीकरण हुन नसक्नु आदि कारणले जनता आक्रोशीत, निरास भएकोले राजतन्त्रको आवरणमा असन्तोष प्रकटीकरण भएको हो । जनता अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा भन्दा पनि अवस्था परिवर्तन गर्न आन्दोलनमा उत्रिएका हुन् । यो द्वन्द्व नेपाली समाज, व्यवस्था र आर्थिक–सामाजिक रुपान्तरण गर्ने एउटा अवसरका रुपमा पनि लिनु पर्ने हुन्छ । प्रतिगमनकारीहरु परम्परागत शक्ति गुमाएपछि धर्म, संस्कृति, राष्ट्रवाद जस्ता मनोगढन्ते हतियार प्रयोग गर्छन् । जनतालाई धर्मको भावनात्मक रूपमा संलग्न गराउँदै रछ्यानमा मिल्कि सकेको संरचना पुनः व्युुताउन खोज्छन् । यो उपाय देखि बाहेक उनीहरुसंग नविन वैचारिक चिन्तन, आर्थिक–सामाजिक रुपान्तरणका एजेण्डा, समावेशीता, सुशासन, सहभागीतात्मक विकासका नीति तथा कार्यक्रम, गरिबी निवारण, उद्योग व्यवसायको विकास, युवा स्वरोजगारका योजना, उच्च प्रति व्यक्ति आय हुने स्वाधीन अर्थतन्त्रका मोडेल आदि केही छैनन् ।
नेपाली जनताले बलिदानमार्फत ल्याएको गणतन्त्र राजतन्त्र भन्दा धेरै प्रगतिशील, अग्रगामी र देश र जनताको विकासका लागि अपरिहार्य छ । आम नेपाली जनता नागरिकबाट रैतीमा किन परिवर्तन हुन चाहान्छन् र ? यो इतिहासको पुनरागमन हो । राजतन्त्र जीवित हुनुपर्ने कुनै कारण देखिदैन । लोकतान्त्रीक गणतन्त्रका वर्तमान शासकहरुले राष्ट्रलाई सही मार्गचित्र दिनुको साटो, भ्रष्टाचार, नातावाद, स्वार्थ, सत्ता लिप्सा र चरम अकर्मण्यताको नमूना मात्र देखाए । जसका लागि शासन प्रणाली परिवर्तन गरियो, तिनै जनता आज पनि गरिबी, बेरोजगारी, महँगी र अन्यायको भार बोक्न बाध्य भएकाले सडकमा आक्रोश पोखिएको हो । यो आक्रोशको मूल कारण आन्तरिक नै हो । तर यो कमजोरीलाई फाइदा उठाउँदै हिन्दू धर्मको आडमा दक्षिणपन्थी बाह्य शक्तिले मलजल गरीरहेको भने पक्कै हो ।
अहिले विश्वमा १९५ राष्ट्रमध्ये १५२ देशमा राजा छैनन्, ४३ देशमा राजा छन् । त्यसमध्ये एसियामा १३, युरोपमा १२, अमेरिकामा ९, ओसेनियामा ६ र अफ्रिकामा ३ राष्ट्र छन् । बरु राजतन्त्र भएका देश पनि गणतन्त्रमा गएका छन् । नेपालमा पनि १६ वर्ष लोकतन्त्रको अभ्यास गरिसकेका जनता यो वा त्यो राजतन्त्रको नाममा फर्कने कुरादिवा स्वप्ना बाहेक केही होइन । नेपालमा २४० वर्षसम्म राजतन्त्र रहँदा न स्थायित्व आयो, न त आर्थिक समृद्धि । सत्ताको चरम केन्द्रीकरणले भ्रष्टाचार, दमन र अन्यायलाई संस्थागत ग¥यो । विशेष गरी २००७, २०१७, २०४६, र २०६२/६३ का जनआन्दोलनहरू राजतन्त्रको असफलताको ऐतिहासिक प्रमाण हाम्रा सामु छर्लङ्गै छन् । नेपालको संविधानले राजसंस्थाको पुर्नवहाली पूर्णरुपमा निषेध गरेर समूल नै नष्ट गरी सकेको छ ।
राजतन्त्रले स्थिरता ल्याउने कुरा भ्रम सिवाए केही होइन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे पनि १०४ वर्षसम्म शाहवंश राणाशासनको छायामा निष्क्रिय रह्यो । राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको घाँटी निमोठेर अधिनायकवाद लादे, राजा ज्ञानेन्द्रले २०५९ मा प्रत्यक्ष शासन गर्दै लोकतन्त्र निलम्बन गरे । २०५८ को राजा वीरेन्द्रको वंश नाश गर्ने दरबार हत्याकाण्डले राजसंस्था भित्रैको अस्थिरता उजागर ग¥यो । राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि २०६२/६३ मा लाखौँ नेपाली सडकमै उत्रिए । इतिहासले प्रमाणित गरिसकेको छ कि राजतन्त्र स्थिरता होइन, अस्थिरताको कारक नै रहँदै आएको छ । अब राजसंस्था फर्कदा यहाँ कुनै चमत्कारीक विकास भई देश र जनताको हित हुने सम्भावना छैन । अझ देशमा झन रक्तपातपूर्ण हिंसा बढ्नेछ ।
नेपाली जनताको लामो शंघर्षबाट प्राप्त गणतन्त्रपछि नेपालले हासिल गरेका उपलब्धिहरू राजसंस्थाका दुई शताब्दीभन्दा बढी मूल्यवान छन् । किनभने लोकतन्त्रले खुला बहसको अवसर दिएको छ, सरकारलाई उत्तरदायी बनाउँदै र नागरिकलाई राज्य सत्ताको स्रोत बनाएको छ । तर वंशवादमा आधारित राजतन्त्रले त नागरिक अधिकार निमोठेर जनतालाई कालकोठरीमा जकडिनु पर्ने अवस्था सिर्जना गर्दछ । समाजमा पछि पारिएका गरिब वर्ग, दलित, महिला, अपाङ्ग, अल्पसंख्यक जनजाति, आदिको अधिकार सुनिश्चित गर्नका लागि लोकतन्त्रीक गणतन्त्र भन्दा अर्को प्रगतिशील व्यवस्था कुनै छैन । गरिब जनताको अपेक्षा अनुरुप उच्च आर्थिक वृद्धिमार्फत शिक्षा, स्वास्थ्य र जनजीविकामा तात्वयिक परिवर्तन नभएका कारण आज प्रतिगमनकारी शक्तिले लोकतन्त्र माथि प्रश्न उठाउने मौका पाएको हो ।
लोकतन्त्रका केही कमी कमजोरी हुन्छन् । तर त्यसलाई लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ । लोकतन्त्रको विकल्पमा अझ परिष्कृत लोकतन्त्र नै खोज्ने हो । गणतन्त्रको विकल्प भनेको अझ उन्नत गणतन्त्र नै हो । त्यसमा सबै लोकतन्त्रवादी दलहरु सहमति, समन्वय र सहकार्यमार्फत अघि बढ्नुपर्छ । देश जिम्मा लिनेहरूमा संयम, धर्यता, इमान्दारिता र नैतिकता आवश्यक हुन्छ । तर नेतृत्व लिनेहरुले अझ बढी त्याग, अनुशासन, देश र जनताप्रति समरपण भावले काम गर्नु पर्ने बेला हो यो । लोकतन्त्रको भविश्य उज्वल छ । कसैले हल्लाउन खोज्दैमा यो व्यवस्था ढली हाल्ने होइन । अब गाउँ गाँउ र बस्ति बस्तिबाट जनता फेरि जाग्न थालेका छन् ।
वि.सं.२०८१ चैत २४ आइतवार ०७:४३ मा प्रकाशित