मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
“किन चिन्तित छस् ?”, साथीको मुहार देखेर पहिलोले प्रश्न गर्यो ।
“खै के भन्नु एउटा लफङ्गा जहिले आउँछ, अनेकथरी सोधेर मेरो आधाघण्टा समय खाइदिन्छ ।”, दोस्रो झनै चिन्तित बन्यो ।
“ए कुरो त्यसो पो…। ल एउटा कुरा भन्छु, मलाई राम्ररी जवाफ दे है त?” , पहिलोले कुरा निकाल्यो ।
“तँ पनि मेरो दिमाग खाने कुरा न गर् न…” , दोस्रोमा निराशाको बादल झन खप्टियो ।
“पहिला कुरा त सुन् …”, पहिलो ढिठ भयो ।
‘लौ भन..’ , दोस्रोले मन मारेर भन्यो ।
“एकछिनलाई मान् तँसँग ८६,४००।– रुपैया छ । कसैले त्यसबाट कसैले १,८००।– रुपैया चोर्यो भने कति बाकीँ रहन्छ ?”
“८४,६००।–” , दोस्रोले फ्याट्ट जवाफ दियो ।
“अनि १,८०० हरायो भनेर दिनभरि पुर्पुरोमा हात हालेर बस्छस् कि बाकीँ रकम सम्हाल्छस् ?”
“बाँकी सम्हाल्छु । किन कि हराएको १,८०० भन्दा मेरो लागि ८४,६०० ठूलो र महत्वपूर्ण हुन्छ ।”
“अब त्यो ८६,४००।–, १,८००।– र ८४,६००।– रकमलाई एक दिनसँग तुलना गर् त….” , पहिलोले उठ्दै भन्यो ।
दोस्रोको दिमाग झन झन्झनाउँदै थियो ।
(लघुकथामा अंकगणितीय प्रयोग)
वि.सं.२०८१ चैत ३० शनिवार ०९:०९ मा प्रकाशित






























