कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बट्टार, नुवाकोट
युवाजोस हाम्रा, पुगे बालुवामा ।
नयाँ शक्ति को भर्छ यो पालुवामा।।
दशा रोग चिन्ता, हटून यो धरामा ।
नयाँ वर्ष छाओस्,चनौटे गरामा ।।–१
यहाँ भ्रष्ट रम्छन्, छली मामिलामा ।
बढेको छ पीडा, कुना कन्दरामा ।।
युवा वृद्ध वृद्धा, जुटून् वन्दनामा।
नयाँ वर्षले हर्ष ल्याओस् धरामा ।।–२
भला साधु लाग्छन्, उँचा भावनामा।
डुबे ठालु हाम्रा, वृथा साधनामा।।
नयाँ शिल्प जागोस्, कला सिर्जनामा।
युवा शक्तिशाली, बनून् यो धरामा ।।–३
फलून् अन्नबाली, तराई गरामा ।
रमून् याक चौँरी, हिमाली धरामा ।।
गढी लेक बेँसी, उकाली कुनामा ।
नयाँ वर्ष छाओस् , पहाडी धरामा ।।–४
सुगा कोइलीले, मिठा गीत गाऊन् ।
चिबे काग मैना, र डाँफे रमाऊन् ।।
जरायो खरायो, दगुर्छन् वनैमा ।
नयाँ वर्ष हाँसोस्, यहाँको धरामा ।।–५
ठगी दुष्ट जाली, हटून् धूर्त डाँका ।
सबै सर्वहारा, बनून् एकढिक्का ।।
युवा पङ्क्ति लागून्, कडा साधनामा ।
नयाँ वर्ष छाओस्, यहाँको धरामा ।।–६
कडा चालबाजी, नहोस् खेल झेल ।
बढोस् कोष हाम्रो, सधैँ सालसाल ।।
छली कर्म क्रीडा, नहून् योजनामा ।
नयाँ वर्षले शान्ति, ल्याओस् धरामा ।।–७
छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत –ISS ISS ISS ISS
वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३० मा प्रकाशित






























