back
CTIZAN AD

कविता : शान्तिको फल

वि.सं.२०८२ वैशाख १३ शनिवार

1K 

shares

दीनानाथ पोख्रेल सुम्बेक, इलाम

उठेर कर्मका कला खटेर बाँढ्नुपर्दछ ।
यही सुयोग्य कर्मले अभाव दुष्ट गर्दछ ।।
विकार कृत्य शत्रु हो हटाउँदै बढूँ अगि ।
पुगिन्छ सौख्य विन्दुमा गभीर सिन्धुझैँ बगी ।।०१।।

उदार धार पक्रँदा मनुष्य बन्दछन् खुसी ।
सुकर्मका सुभावका विकार दुष्ट हो छुसी।।
जुटौँ मिलेर कृत्यमा उचाल्छ प्राप्तिले खुसी।
विकार दुष्ट भाग्दछन् डराउँछन् खुनी छुसी ।।०२।।

चढूँ म काव्य टाकुरा युगान्तकार बन्दछु।
खटे स्वयम् सुकृत्यमा विशाल प्राप्ति गन्दछु ।।
यताउता कता भनी नअल्झँदै बढूँ अगि।
सुयोग्य कर्मका ध्वजा हटाउँछन् खुनी ठगी ।।०३।।

सुवास विश्वमा चलोस् सुकर्म सारथी भनी ।
सुयोग्य याम आउँछन् उचाल्दछन् उँभो जुनी ।।
मिलेर फ्याँक्न बेर भो अभाव दुष्ट दुश्मन ।
लगाउँदै बढूँ उँभो सुयोग्य कर्ममा मन ।।०४।।

सुकर्मका प्रभावले अभाव हार मान्दछ।
विचार तेज पक्रँदा सुकृत्य कर्म छान्दछ ।।
समस्त पेटका व्यथा झिकेर फ्याँक्नुपर्दछ ।
स्वतन्त्र सौख्य चाहना खटेर डाक्नुपर्दछ ।।०५।।

अभाव दुष्ट दूर होस् विचार गर्छ यो हियो ।
सुभाव साथमा रहोस् प्रकाश छर्छ चेत यो ।।
उदात्त भाव साथ होस्, उचाल्छ कर्मको बल ।
खुलेर फल्छ कर्मले सुयोग्य शान्तिको फल ।।०६।।

छन्द – पञ्चचामर
गण – ज र ज ।र ज गु
सङ्केत –ISI  SIS  ISI  SIS  ISI  S

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:११ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...