विदुर अधिकारी, रामपुर चितवन
नजर नजरमा, बहुत रमायौ
मृदुल हृदयमा, प्रणय फुलायौ
अनुनय छ यही , प्रियतमलाई
लग अब घरमा, मकन सजाई
१
अनुपम पिरती, मसित लगायौ
अति खुस रहँदै, मन बहलायौ
मधुर छ विनती, प्रियतमलाई
लग अब घरमा, सिँदुर लगाई
२
मन गजब छुने, प्रणय रचायौ
घरजम गरिने शपथ खुवायौ
अनुनय छ ढिलो नगर, मलाई
लग घर दुलही, सहज बनाई
३
रनवन डुलिँदा, नयन जुधायौ
अनुभव जति छन्,सकल सुनायौ
विनय छ प्रिय यो मकन सजाई
लग घर सनई, मधुर बजाई
४
विमल मिलनको,पथअघि र्सायौ
अमर हृदयले, प्रणय पुर्कायौ
बन अब दुलहा, अधिक रमाई
भर अनि सिउँदो, लगन जुराई
५
छन्द – माधवी
गण – न न भ स गु
गण सङ्केत: III – III – SII – IIS – S
विश्राम ७ अक्षरमा
वि.सं.२०८२ जेठ १७ शनिवार ०७:१४ मा प्रकाशित






























