वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ
–‘ए मनुवा! पर्ख, पर्ख ।’
आफूलाई काट्नै आँटेको मान्छेलाई रोक्दै बुढो रुख बोल्यो ।
–‘अरे, बोल्ने रुख? कस्तो अचम्म ! लु लु भन् जे भन्नु छ, के कुरा हो छिटो भनिहाल् !’
रुखो स्वरमा मान्छे बोल्यो ।
–‘मनुवा ! मलाई किन काट्दैछौ? मैले तिम्रो के बिगारेँ? यदि मलाई काट्यौ भने तिमी पनि बाँकी रहदैनौ। त्यसैले …’
रुखले चेतावनी दिँदै भन्यो ।
–‘हा हा हा, अझ धम्की ! जाबो रुख भएर मसँग यत्रो फुर्ति ? के नाप्छ्स् नाप, मलाई तेरो बकबास सुन्ने फुर्सद छैन; टन्न गाँठ कमाउनु छ ।’
मान्छेले बन्चरो लिई पुनः रुख काट्न थाल्यो । निराश हुँदै रुखले आफ्नो ज्यान समर्पित ग¥यो ।
–‘म यमलोकमा ? म यहाँ कसरी ? खोइ मेरो परिवार ?’
होशमा आएसँगै अत्तालिँदै मान्छेले भन्यो ।
–‘रिल्याक्स मनुवा रिल्याक्स ! तिम्रा परिवार पनि यतै छन्, आत्तिनु पर्दैन ।’
बूढो रुखले सान्त्वना दिँदै भन्यो ।
–‘अरे रुख, तिमी पनि ?’
रुखको आवाजले मान्छे आश्चर्यचकित भयो ।
–‘हो, म पनि । तर नर्कमा होइन, स्वर्गमा । मलाई पठाउने त तिमी नै हौ, बिर्सियौ ?’
रुखले सत्य ओकल्यो ।
–‘अनि म कसरी यहाँ ? मलाई कसले पठायो ?’
अतालिँदै मान्छेले सोध्यो ।
–‘कसले भनौँ, तिम्रो कर्मले । ’म नरहे, तिमी पनि रहँदैनौ, नकाट’ भनेको होइन, सुनेनौ । वायु प्रदूषणले तिम्रो ज्यान लियो, बाढीपहिरोले परिवारको । अब भन तिमी मूर्ख कि म ?’
जिज्ञासा मेटिदिँदै बुढो रुखले भन्यो ।
वि.सं.२०८२ साउन १० शनिवार ०८:३३ मा प्रकाशित






























