back

व्यापार घाटा सात खर्ब, विप्रेषण बढ्यो

वि.सं.२०७४ जेठ २५ बिहीवार

660 

shares

money

२५ जेठ,काठमाडौँ  । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।

यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराइमा ८.६, हिमालमा ९.१ र काठमाडौँ उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।

सरकारले बजार अनुगमनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हडताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । “वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ”– नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर १० प्रतिशत थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४, तरकारीको मूल्यमा १३.१ र घ्यु तथा तेलको मूल्यमा १.९ प्रतिशत कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति भने ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १०.४ प्रतिशत थियो । यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम हुन गएको हो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशत वृद्धि भएको थियो ।

विप्रेषण बढ्यो, व्यापार घाटा सात खर्ब ४७ अर्ब

विदेशबाट भित्रने विप्रेषण गत वर्षको तुलनामा ५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत वैशाखसम्मको मुलुकको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा विप्रेषणमा वृद्धि भएको उल्लेख छ ।

गत वैशाखसम्म विदेशमा रहेका नेपालीले रु पाँच खर्ब ६६ अर्ब ९७ करोड विप्रेषण पठाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।

देशबाट बाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर रु ५३ अर्ब ८४ करोड बचतमा रहेको छ । यद्यपि चालु खाता भने रु ७ खर्ब ५७ करोड घाटामा रहेको छ ।

व्यापार घाटा रु सात खर्ब

बैंकले वैशाखसम्मको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै निर्यात रु ६१ अर्ब दुई करोड हुँदा आयात रु आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको जनाएको छ । जसले गर्दा समग्र व्यापार घाटा रु सात खर्ब ४७ अर्ब ६५ करोड पुगेको छ ।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा यसको पार्टपुर्जा आयातका कारण समग्र व्यापार घाटा बढेको हो ।

वि.सं.२०७४ जेठ २५ बिहीवार १४:२१ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै

काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको...

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...