शब्दको खेलाडी (बिसु हाङ राई)
विराटनगर, मोरङ
१.
छैन गरिबलाई बास
घर छाउने छानो
त्यसको माथि कपास ।
२.
अल्छीको कुम्भकर्ण सुताइ
मेहेनत जति शून्य
बेवारिसे हुन्छ उठाइ ।
३.
टोलाउँछन् दुई आँखा
ऋणको मुक्ति खोज्दै
नाघिसक्यो सबै भाखा ।
४.
रुँदैछ देशको अस्मिता
दानवको हातमा परेर
व्यर्थै भागवत गीता ।
५.
उजाडिएको नेपाली धर्ती
खण्डहर भएको राष्ट्रियता
चोरहरुकै दिव्य अर्ती ।
६.
सत्य बेचियो झुटमा
इमान झुक्यो थाकेर
जनता गुट गुटमा ।
७.
बाँडियो देश जातमा
संस्कार संस्कृति मासेर
खुकुरी बन्दुक हातमा ।
८.
मूर्खलाई चाहिँदैन उपदेश
खन्चुवा अघाउँदैन कहिल्यै
भद्रगोल उसको परिवेश ।
९.
भलाद्मी जति हरामखोर
होला गणतन्त्र यही
शासनमा आसीन चोर ।
१०.
देशको खस्कियो हालत
छैन शान्ति समृद्धि
न्याय निष्पक्ष वकालत ।
थिए अनेकौँ पियार गर्ने ममा तिमिले के खास देख्यौ
मसङ्ग नाता जुट्यो पियारी र झोपडीमा छ वास देख्यौ
थिए यहाँ जो जहानियाँ ती सबै हराए भए पुराना
मिलेर फाल्यौँ यहाँ कुशासन हरेक मिल्दा निकास देख्यौ
तिमी नबन्नू यहाँ कुशासक बने नराम्रो हुनेछ हालत
गुमेर सत्ता मगज गुमेको त्यो दुष्टको अट्टहास देख्यौ
नठान हैकम सधैँ चलिरहन्छ खास यहाँ कसैको
हुँदैन उस्तै सदैव कसको चल्यो कहाँ एकनास देख्यौ?
बेकार बन्छौ तिमी दुखी खुब भएन धन साथमा भनेर
निकै कमाई धनी बने धनीले लगी गए धनको रास देख्यौ ?
बहर ः जमिल मुसम्मन सालिम
अर्कान ः मफाइलातुन् , मफाइलातुन्, मफाइलातुन्, मफाइलातुन्
वजन ः १२१२२ – १२१२२ – १२१२२ – १२१२२
वि.सं.२०८२ असोज ४ शनिवार ०९:४८ मा प्रकाशित






























