वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ
–‘ल हेर्नुस्, केटो यही हो । पढेलेखेको, इमानदार छ । जाँड, रक्सी, चुरोट, बिँडी खान त परैजाओस्, हेर्न पनि मन पराउँदैन ।’
प्रशंसाको पुल बाँध्दै लमीले भन्यो ।
–‘केटो त लायकको, खाइलाग्दो राम्रै रहेछ, मन प¥यो । तर घरमा सासू, ससुरा, जेठाजु, जेठानी, नन्द, आमाजू त छैनन् नि ?’
सीताले सुनिश्चितताका लागि पुनः प्रश्न राखिन् ।
–‘छैनन् छैनन्, ढुक्क हुनुस् । केटो एक्लै छ । सानैमा आमाबाबु मरे, हजुरामाले पालेर हुर्काइन्, पढाइन् । अहिले हजुरामा पनि छैनिन्, बितिसकिन् ।’
लमीले एकिन दिलाउँदै भन्यो ।
–‘ल ठिक छ, कुरो अगाडि बढाउनोस् । जुवाइँ त खोजिदिनुभयो, बाजे ! अब बुहारी पनि खोजिदिनुप¥यो । छोरो पनि जवान भइसकेको छ, मिले एउटै साइतमा बाजा बजाइदिनु पर्ला ।’
हौँसिँदै सीताले भनिन् ।
–‘हजुरले भन्नुस् मात्र, केटी त कति छन् छन् । तर … ।’
भन्दाभन्दै लमी रोकियो ।
‘तर के बाजे ? खुलस्त भन्नोस् न ! के कुरा हो ?’
उत्सुकतापूर्वक सीताले भनिन् ।
‘खासै ठूलो कुरो होइन, खाली तपाईंँ वृद्धाश्रम जानुपर्ने हुन्छ । केटीतर्फकाले सासूससुरा भएको घरमा नदिने भन्छन् ।’
डराई डराई लमीले भन्यो ।
वि.सं.२०८२ असोज ४ शनिवार ०९:५६ मा प्रकाशित






























