कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर
लु नाचौँ यी हाम्रा करुण रसका काव्य सिउरी
रमाऔँ श्रष्टाका अनुभव बटुल्दै वरिपरि
तिखारौँ छन् भित्री मन मगजमा तोरण घटा
यसैलाई भन्छन् सुपथ दिलको कञ्चन छटा ।१।
नहारेका हेरौँ सकलजनका कर्म जति छन्
सपारेका देखौँ गतिविधि सबै श्रव्य जति छन्
उठाऔँ यी माथा गगनसरिका मापन गरी
भिजुन् आत्मा हाम्रा रस–रङ अनेकौँ घत परी ।२।
जलाऔँ ईष्र्याका मणि जडित आफ्ना घरहरू
रमाउन् थोत्रा ती पहिरन उनेका करहरू
बनाऔँ साझा यी धन घर सबै लोभ नगरी
सकिन्छन् विद्रोही कलुष मनका घात पगरी ।३।
जहाँ बाँच्छन् पक्षी पशु पनि उनैका घरबिना
यिनै पृथ्वीमा छन् जलचर सु–संरक्षकबिना
चलेकै छन् पुस्ता खटन नहुँदाका गति लिन
बढी प्यारो बन्दा अझ तल परÞ्यौँ मानिस किन ?४
भयो घाती जस्तै अबुझ मन हाम्रो बिरसिलो
रह्यो कालो मैलो चुकसरि खुबै छैन गतिलो
भए जेठाबाठा खल किन छ प्रज्ञा अनुजको
कि ब्रह्माले भुल्दा मगज तुहियो रे मनुजको ?५
छन्द : शिखरिणी
गण : य – म – न – स – भ – ल – गु
सङ्केत : ISS – SSS Ö III – IIS – SII – I – S
वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३३ मा प्रकाशित




























