back
CTIZAN AD

अत्याधुनिक सुविधासहितको चित्रवन रङ्गशाला निर्माणको काम सुरु

वि.सं.२०७४ जेठ २९ सोमवार

735 

shares

२९ जेठ, चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो ।
जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ ।

भरतपुर महानगरपालिका वडा नं २० को नयाँबजार नजिकै १० बिगाहा जग्गामा रङ्गशाला निर्माण थालिएको हो ।

रङ्गशालामा फुटबल र क्रिकेटका लागि छुट्टाछुट्टै मैदान निर्माण गरिनेछ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका सचिव टिएम गुरुङका अनुसार चार बिगाहा १० कट्ठा जग्गामा फुटबल खेल मैदान र पाँच बिगाहा १० कट्ठामा क्रिकेट मैदान बन्नेछ ।

साथै, रङ्गशालामा एथ्लेटिक्सका लागि ट्र्याक पनि निर्माण गरिने टिएमले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त रु १० लाखले फुटबलको प्यारापिट बनाउने काम भइरहेको छ ।

रङ्गशालाका लागि अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली महासङ्घका सदस्य सोम सापकोटासहितले रु नौ लाख विभिन्न देशबाट सङ्कलन गरिसकेको बताउँदै श्री टिएमले क्लिनिक नेपालका हरि भण्डारीको पहलमा रु १० लाख रङ्गशालालाई प्राप्त हुने आश्वासन आएको बताउनुभयो । चितवन सोसाइटी जापानबाट रु दुई लाख प्राप्त भइसकेको छ ।

रङ्गशालाको नक्साङ्कनको काम सम्पन्न भइसकेको बताउँदै उहाँले फुटबलको प्यारापिटमा १४ हजार दर्शक बसेर खेल हेर्न मिल्छ भने क्रिकेटको स्टेडियममा २० हजारभन्दा बढी बस्न मिल्ने बताउनुभयो ।

वि.सं.२०७४ जेठ २९ सोमवार १०:२५ मा प्रकाशित