कलानिधि दाहाल
रातोपुल, काठमाडौँ
तोडफोड र यो अग्निकाण्ड नायक हौ भने
हिँसाका दहमा डुब्ने सर्वनाशक छौ भने ।
व्यक्तिका घरमा चोर पस्ने जमात हौ भने
भो भो चाहिन्न यो जेन्जी घाँडो मात्र भयौ भने ।१।
विवेकका सबै तार चुँडी चल्मल चल्मल
इसारा अन्यका मानी गर्दछौ तिमी खल्बल ।
कठालो व्यक्ति इष्र्यामा रमाउँछौ भने तिमी
भो भो चाहिन्न ए,जेन्जी!नआऊ नजिकै तिमी ।२।
बुढा वृक्ष जरा उक्की छन् सत्ताभित्र बुझ्छु म
निरङ्कुश बनेका छन् सम्झनाभित्र हुन्छु म ।
अग्लो पहाड अन्याय थुप्रेको पनि देख्छु म
थाहा छैन तिमीलाई राम्ररी भन्न सक्छु म ।३।
तार समयका सार जसरी जोड्नु पर्दछ
चक्रव्युह जता हानी ढोका यी फोड्नु पर्दछ।
यही ताण्डवको शैली लिई बढ्छौ भने उता
भो भो चाहिन्न ए, जेन्जी फेरि नफर्क हो यता ।४।
हटाई स्याल डुक्रेको सत्तामा चितुवा किन
खतरा अझ निम्तिन्छ तानाशाह हुने दिन ।
चिबे मारी लिई हात गिध्द रम्छौ भने किन
भो भो चाहिन्न ए,जेन्जी नआऊ अझ ठोक्किन ।५।
सत्ता लालसका ल्वाङ तिमीमा देखिए अझ
इतिहास सबै यस्तै तिमी खै कति दिग्गज ?
मारे मर्ने भए बाँच्ने बाँचेका मृत्यु मर्दछौ
भो भो जेन्जी यिनै स्वार्थ के धाक तिमी गर्दछौ ?६?
कलिला दिल मोडेर हिँसा आहाल पौडिने
बौँडाइ मुखमा चेपी लामा जुलुस बौडिने ।
भ्रष्ट विरुध्दको हिंसा सत्ता ताकेर भ्रष्टको
हिँड्छौ भने तिमी जेन्जी तिम्रो उद्देश्य प्रस्ट भो ।७।
चोर्नकै निम्ति विध्वंस तिमी गर्छौ भने यता
आफ्नै घर जलाएर लर्बरिन्छौ जतातता ।
फाल्न ताण्डव यो एक अर्को ताण्डवको जग
रच्छौ भने तिमी जेन्जी कहाँ बन्छौ र दिग्गज ।८।
अशान्तिमा हुने शान्ति अहिंसामा छ हिंस्रक
अभ्रष्टमा हुने भ्रष्ट यो नै देख्छु भयानक ।
बुध्दत्वमा हुने घात अझ हो घबराहट
गोडेसे छौ बनी गान्धी जेन्जी भएर आहट ।९।
छन्द : अनुष्टुप
वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:१२ मा प्रकाशित






























