घनश्याम पौडेल,पोखरा
मेरा निमित्त मेरा, आमाबुबा सबै हुन्
सीता र राम जस्ता,माया दिने दुबै हुन्।
संसार देख्नु पर्दा,ऑखा दिने बुबा हुन्
संस्कार सिक्नु पर्दा,आमा सिकाउने हुन् ।१।
चिन्ता हुककदैन केही,आमा बुबा हुँदामा
आई फकाउने छन्,एक्लै बसी रुँदामा।
सानो छँदा समाई, ताते गरेर लग्ने
माया दिनै परेमा, धारा प्रवाह बग्ने।२।
भोकै बसेर आफू,खाना दिएर बस्ने
आँखा छलेर मेरो,पानी पिएर बस्ने।
थोरै ढिला भएमा, चिन्ता लिएर बस्ने
छाती निधार दुख्दा,संगै लिएर बस्ने।३।
फाटी सकेछ टोपी, उध्री सकेछ चोली
खुम्ची सकेछ छाला,खस्की सकेछ बोली।
उस्तै जुझारु लाग्ने,काट्दा अझै बयासी
उस्तै छ धैर्यता त्यो,बस्ने सदैब हाककसी।४।
लागेन रोग ठूलो,हिड्दा बिहान साँझ
उस्तै छ फूर्ति फार्ती,सिङ्गो समाज माझ।
खुल्ला किताब जस्तै, लाग्ने बूबा र आमा
पढ्दा कसै नसक्ने,हामीसँगै हुँदामा।५।
पाई रहौँँ हमेशा,न्यानोपना दुबैको
सेवा अनन्तसम्मन्, गर्ने छु है उनैको।
गल्ती कथम्कदापी, अंजानमा हुँदा नि
मान्ने थिएँ म आफू,साह्रै नि भाग्यमानी।६।
छन्द : दिक्पाल
गण : त र म ज गु गु
सङ्केत : SSI – SIS – SSS – ISI – S S
विश्राम : ७ अक्षरमा
वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:१४ मा प्रकाशित






























