दीनानाथ पोख्रेल
सुम्बेक, इलाम-२, इलाम
आमा दिन्छिन् सुगुण सबमा लिन्छ जो बन्छ मान्छे ,
विद्या बाँड्छिन् सहज सबमा बन्छ त्यो योग्य भान्से ।
होचो अग्लो सहज उसका नेत्र दिन्छन् चिनारी ,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी ।०१।
नारी पढ्छिन् भवन सब यो लिन्छ शिक्षा अनेक,
चिन्ता टन्टा मनुज घरमा हुन्छ बढ्छन् उदेक ।
नारी धर्ती सम सहन को सक्दछिन् बोक्न भारी,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी ।०२।
क्रोधी पाटा कसर मनका साफ पार्छिन् निथारी ,
अग्ली हुन् यी अवनितलकी दिव्यताकी पुजारी ।
जम्मै फ्याँक्छिन् कलुष दिलका साफ गर्छिन् निथारी,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी ।०३।
बाधा झिक्छिन् सकल पथका सौम्यको द्वार खुल्छ ,
बढ्छन् आशा कुशल कृतका भावना चेत खोल्छ ।
खोल्छिन् आँखा हृदयतल यो दिव्य पार्छिन् सुधारी ,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी .।०४।
शोभा आभा विजय वर यी बाँड्दछिन् नित्य आमा ,
अग्लो सङ्लो श्रमपथ चुनी ज्ञान बाँड्छिन् धरामा ।
काँचो माटो सम शिशु थिएँ छोड्दिइन् योग्य पारी ,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी ।०५।
शिक्षा दीक्षा युगलय टिपी उठ्न सक्छिन् धरामा ,
मान्छे पार्छिन् सबल यिनले प्रेम पोख्छिन् जरामा ।
पार्छिन् ज्ञानी समझ मनुवा चेतनाले सिँगारी ,
गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी ।०६।
छन्द : मन्दाक्रान्ता
गण : म – भ – न – त – त – गु – गु
सङ्केत : SSS – Sll – lll – SSl – SSl – S – S
वि.सं.२०८३ साउन ९ शनिवार ०७:५० मा प्रकाशित






























