विदुर अधिकारी, रामपुर,चितवन
मेरो चित्त रहन्छ मैसित सधैँ, उत्साहका साथमा
यस्तो चित्त कदापि दुख्दछ कहाँ,पर्दैन सन्तापमा
बोलोस् जोअति तुच्छ भैकन सदा,चाहे सरापोस् जति
मेरो चित्त सदैव सुन्दर हुँदा ,लाग्दैन चिन्ता रती
. (१)
भन्छ्न् चित्त दुख्यो भनेर जनले,खै चित्तको चिन्तन
ज्यादै सौम्य छ यो सुरम्यपनको, गङ्गा सरी कञ्चन
गङ्गामा जति नै परून् मयल ती, धोएर भाग्छन् पर
त्यस्तै शुद्ध पवित्र चित्त रहँदा उब्जिन्न केही डर
(२)
भुक्छन् मानिस छुद्र भैकन यहाँ ,गर्दै नराम्रा कुरा
मेरो चित्त दुखोस् भनी बचनका,घोप्छन्अनेकौँ छुरा
कल्ले बुझ्न सक्यो र दिव्यलहरी, यो चित्तको जीवनी
मेरै चित्त म दुख्न दिन्न भनिए,दुख्दैन कैल्यै पनि।
(३)
मेरो चित्त सदैव सोच्छ, कसरी सुल्झिन्छ यो सङ्कट
ऊर्जाशक्ति विवेकसाथ रहँदा, हट्छन् सबै झन्झट
कल्ले सक्दछ चित्त मार्न बलियो,द्वारे हुँदा साथमा
मेरो चित्त म दुख्न दिन्न कहिल्यै, चाबी छ यै हातमा
(४)
कस्तो चित्त अहो! समस्त दुनियाँ,धेरै दुखायौ भनी
भन्छन् मानिस गुह्य बात नबुझी सारा डुब्यो जीवनी
आफैँ रक्षक भै ठुलो नरकझैँ, पार्ला र को जीवन
मैलो चित्त नपारियोस् सुजन हो पारौँ सधैँ कञ्चन
(५)
छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S
वि.सं.२०८३ साउन ९ शनिवार ०७:४९ मा प्रकाशित






























