२ साउन, चरिकोट । रामेछापको लिखु गाउँपालिका–६ खिम्तीस्थित छतिवन टोलमा गए राति बाढीले बगाएर बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् ।
बाढीले बगाएका पाँच जनामध्ये दुईको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दिनभर प्रहरी, सेना र स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजि गरिए पनि फेला पार्न सकिएको छैन ।
लिखु गाउँपालिका–७ खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र सोही स्थानका ४५ वर्षीय वासुदेव कार्कीको शव भेटिएको छ । छतिवनका ६२ वर्षीया सुमनकुमारी खत्री, १४ वर्षीया मनिता तामाङ र ५२ वर्षीय अशोक तामाङ अझै बेपत्ता छन् ।
बाढीका कारण घाइते ६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँै लगिएको छ । बाढीले खिम्ती– फर्पु सडक खण्डमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । बाढीले पुल नजिकैका दुईवटा घरसमेत बगाएको छ । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवने खोलामा बाढी आएको थियो ।
स्थानीयवासीका अनुसार खिम्ती बजारस्थित खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले स्थानीय कुमार खत्री, शम्भु विक र सुमन खत्रीको घरमा क्षति पुगेको छ । असुरक्षितलाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।