आफ्नै हत्केलाको
किरिङ-मिरिङ रेखा जस्तो
उसको जिन्दगीको बाटो
नभमा फैलिएको बादलको जहाज
बन्दै विसर्जन हुँदै गरेजस्तो
कोर्दै मेट्दै गर्छ उ
सिकारु चित्रकारले चित्र कोरे जस्तै
आफ्नो भाग्य रेखा ।
थमाइदिएको छ
पूर्वजको विरासत उसको हातमा
एउटा हँसिया, बन आवाद गर्नलाई
एउटा हतौडा, बस्ने घर बनाउनलाई
अनि रातो रगत, जीवनचक्र संचार गर्नलाई ।
हुत्याइदिएकोछ उसलाई
नियतिको स्पेसक्राफ्ट बाट पृथ्वी नामको स्वर्गमा
जहाँ निरन्तर चलिरहन्छ
देव र दानव बीच अस्तित्व युद्ध
जहाँ घरि दानवहरु देव बनाइन्छन्
घरि देवहरु दानव ।
एउटा ‘वर्जित-फल’ राखिएकोछ यहाँ
खै कसले, देवताले हो कि दानवले !
त्यही वर्जित–फल भित्र
लुकाइएको छ मेरो अस्तित्व र पहिचान
सुनै–सुनको जाली रुमालले बेरेर
अनि लगाइएको छ हिराको ट्याग
‘वर्जित–फल’ लेखेर ।
यही पृथ्वीको अर्को किनारमा
ठिङ्ग उभिएकोछ बोनसाई कल्प–वृक्ष
जसले पुरा गरिदिन्छ बलियाहरुको मनोकामना
अनि मूक भइदिन्छ निर्बलहरुको प्रश्नमा ।
त्यसैले अचेल देवासूर सबै
कल्प-वृक्षको उपासक भएकाछन्
र त्यस डिजिटल कल्पवृक्षलाई
अलि मा….थि बाट बसेर
चलाइरहेछ रिमोटले एउटा कालो आकृति
जसले वर्जित–फलमाथि
अनि डिजिटल कल्प-वृक्षमाथि
केवल उसको ‘भिटो’ भएको दाबी गर्छ ।।
वि.सं.२०७४ पुस २५ मंगलवार ०२:१८ मा प्रकाशित































