
रुन्छिन् नेपालकी आमा काख रित्तो बनाउँदा
नयाँ नेपालका चल्ला उड्दै कतै रमाउँदा ।
नयाँ रङ्ग नयाँ जोश स्वर्गको कल्पना गरी
छोड्दछन् पौरखी देश थोत्रियो राष्ट्र बेसरी ।१।
आमाको दूधको तुल्य पोषिलो हुन्छ के अरू
आमाको काखको न्यानो होम्दै छु डलरे चरु ।
बेच्दै छु पसिना आमा तिम्रो नाम जपें कति
दण्ड होस् स्वार्थमा मेरो भोग्नेछु गरिए जति ।२।
ट्रम्पको उर्लँदो छाल बढार्ने भुसुना भुरा
आप्रबासी बिरुद्धैको गर्छन् चिढ्याउने कुरा ।
खेलिन्छ रङ्गको होली जुवामा चर्म पर्दछ
निरोगी कामले बाँच्छ रोगीले मर्नु पर्दछ ।३।
गाडीको दब्दबा देखी खुट्टाको गति रोकियो
कुँजो भो जिन्दगी साँच्चै लैनो पाडी भने भयो ।
गाउँ बेसी उकालीको महत्व बल्ल बल्झियो
स्याउ मुस्ताङको प्यारो चेतना बौरिंदै गयो ।४।
यहाँ बन्दुकको गोली खेलौना खेल आदत
मेरै डन्डीबियो प्यारो सोच्न बाध्य भएँ म त ।
सन्किंदा एउटै व्यक्ति हजारौं हर्ष हर्दछन्
पुजारी अस्त्रका बन्दै त्यसैमा गर्व गर्दछन् ।५।
ऐश्वर्य अरूको देखी गोर्खेको सान खुम्चियो
सांसारी उच्चता नाप्ने हिमाली टापु छोट्टियो ।
खाडीमा पसिना बेच्ने नेपाली जनको कथा
सम्झिंदै छु यहाँ मैले विदेशी भूमि दासता ।६।
हाम्रो देश लुटेका छन् भन्छन् गोरा विरासत
खियाई पौरखी नङ्ग्रा बेच्दै छु हर्ष किस्मत ।
के के नै नाप्दछौं भन्ने भाँचिए भाव आँकुरा
आमाले बुझ्दछिन् भन्दै लेखें यी मनका कुरा ।७।
इति
छन्दः अनुष्टुप
वि.सं.२०७४ चैत १ बिहीवार १०:५३ मा प्रकाशित






























