
नीलो आकाश मुन्तिर
धर्तीका मझेरीमा
लमतन्न रेलका डब्बाझैं
ससाना भूटानी छापाको गीत
बेखबर छ
सम्झनाका मुटुहरु
शताब्दीका मेरा अन्तिम बिचार
गीतका पंक्तिहरुमा कोरिदैछ
छिचिमिराझैं
उज्यालोमा प्वाँख उचालेर
मृत्युको विजय गीत गाउँदै
साँघुरा छाप्राभित्र भूटानीहरु
जीवनका अनुपम स्मृति धुनहरु
बिहान बेलुकीका गाँस सँगै
अनगिन्ती गीतहरु गाउँदैछन्
छरपस्ट छरिएर
सायद
कोही छाक जुटाउन हुनुपर्छ
कोही नुन भुटुन जुटाउन
कोही बालबच्चाको इच्छा पूरा गर्न
कोही वय बृद्ध मातापिताको
स्याहार सुसार गर्न
भूटानी छापाको गीत
सारङ्गीको तारमा रेट्दै
अनगिन्ती बाफिएका अभिलाषाहरु
अब गीतका पंक्तिहरुमा कोरिदैछन्
भन
साँचो भन
भूटानीहरु हो
किन यसरी हारेर ?
जीवनको गीत गाउँदै हिड्यौ
एक्लै फगत एक्लै
सपनाको यात्रामा निस्कियौ
किन आँखामा देशको माया मार्यौ ?
किन हृदयको आफ्नोपन उखेल्यौ ?
एक्लै यो बिरानो देशमा
आज विरही
शरणार्थीको गीत गाउँदै
किन भौतारिन्छौ ?
मलाई त
आफ्नै देशको घर प्यारो छ
आफ्नै माटोको माया छ
आफ्नै पसिनाको विवेक छ
सुन
छाप्राभित्रको जिन्दगी
जिन्दगीभित्रको दुःखान्त गीत
म हरपल गाउँदै जाने छु
तिमी सुन्दै जाउ
मेरा जहर शब्दका गीतहरु
आज
रहर नभए पनि करले
बिछोड र पीडाका धुनहरु
अबिरल असमान
पानीको वेगसँगै
म अर्थात् तिमी बगाउँदै जानु छ
शुन्य समयको घण्टी
भूटानी छापाहरुमा बज्नै लागेको छ
त्यसैले म छाप्राका गीत
सारङ्गीको तारमा रेट्दै
गाउँदै छु ।
इति
वि.सं.२०७५ वैशाख ५ बुधवार ०९:५६ मा प्रकाशित






























