

छन्द कविताः साँच्चै यहाँ के भयो ?
धर्ती दीप निभ्यो सबै अनि यहाँ निस्पट्टताले घेर्यो
हाम्रो जीवनमा नकाट्न सकिने ऐंजेरु मात्रै बेर्यो ।
औधी शान्त स्वभावको तन कहाँ ऐले बिलाई गयो
तिम्रो साथ पुग्यो उडेर भगवान् साँच्चै यहाँ के भयो ।१।
हामी राघवका सखी सब जना बस्छौं अँध्यारो धरा
भेट्ने आश गरी तिमी दिनदिनै हेर्छौं कुनाकन्दरा ।
प्यारो थ्यो सबको रुचाइ कसले टाढा टिपेरै लयो
भेट्दैनौं किन हो कतै पनि तिमी साँच्चै यहाँ के भयो ।२।
पीडाका दिन छन् धरा अब बुझे हाँसी बसे है त्यहाँ
भेट्छौं है पछि लौ तिमी सब जना बस्दैन कोही यहाँ
पापी काल लग्यो दिएर ममता पृथ्वी चल्यो मन्द यो
निभ्दा लाल्टिन त्यो परे मन चिरा साँच्चै यहाँ के भयो ।३।
सारा छन् त्यस लोकमा अब बुझी बस्नू रमी राघव
हाम्रो अन्तिम भेट हुन्छ ल त्यही मर्छौं सबै मानव
आलो घाउ वियोगको छ भगवान् दुस्खेर बल्झिन्छ यो
मैले औषधि भेट्न सक्छु र कहाँ साँच्चै यहाँ के भयो ।४।
तिम्रा काम रहे गयौ अब तिमी रोएर क्यै हुन्न नि
तिम्रो त्यो रुपको बयान म गरी कैले अघाउन्न नि
देख्ने छैन तिमी भनी खुब रुँदै चर्की गयो आत्म यो
बाआमा घरमा सरासर भुल्यौ साँच्चै यहाँ के भयो ।५।
दुर्गापुत्र वियोगमा सब मुमा रोए विलौना गरी
रोयो रातदिनौं धरा अझ सबै नेपाल मुर्छा परी
प्यारा ए शिव, टिप्नु फूल जगको गल्ती भयो जे भयो
यो धर्ती दिउँसै बन्यो नि रजनी साँच्चै यहाँ के भयो ।६।
छैनौ आज तिमी धरा गगनमा बैकुण्ठ स्वर्गे भयौ
होस् तिम्रो मन शान्ति स्वर्ग घरमा छोडेर हामी गयौ
ठूलो चोट पर्यो र हिम्मत गरी धर्ती मुमाले सयो
हामी माझ अकल्पनीय घटना साँच्चै यहाँ के भयो ।७।
कविः धर्मेन्द्र भट्ट, काठमाण्डाै नेपाल,

स्व. राघवमा भावपूर्ण श्रद्धाञ्जली
हे मेरी आमा आकाशबाट नियाली हेर्दैछु
पवन बनी अँगालोभित्र तिमीलाई बेर्दैछु
नरोए आमा तिमीले रोए म पनि रुनेछु
ए बाबु भन्दै डाक न आमा सामुन्ने हुनेछु ।१।
बाबा र दाजु छन् इष्ट मित्र माया छ अपार
नछाड डाको अमूल्य आँसु त्यसरी नझार
म सामु हुदाँ मुस्काउँथ्योै तिमी गुलावै जसरी
औँसीको दिन झरेका आँशु म रोकूँ कसरी ।२।
हे मेरी आमा तिमी हौ दुर्गा भवानी तिमी हौँ
छुटौँला कहाँ तिमीमै म छु मसँगै तिमी छ्यौ
माटोको टीका लगाउन पायौ नेपालै पुगेर
चढायौ श्रद्धा बुद्धको भूमि पाउले टेकेर ।३।
तिमीले हाँसे हे मेरी आमा म हाँस्न सकूँला
तारा र जून छन् मेरा साथी रमेर बसूँला
बाबा र दाजु साथी र सङ्गी छन् तिम्रा साथमा
म पनि हाँस्छु ताराका साथ औँसीको रातमा ।४।
इति
कविः भवानी खतिवडा, काठमाण्डाैं नेपाल

राघवप्रति भावपूर्ण श्रद्धान्जली
मर्नै पर्छ अवश्य यो धरतिमा जन्मेर आए पछी
को आफ्नो र पराय हुन्छ भन्नु छोडेर जान्छन् कति ।
रूने लौ मन यो वुझेर सब त्यो धेरै विलौना गरी
मायॉले भरिदोछ पीर जडता लिने दिने झन् कति ।१।
दिव्यै त्यो हसिलो मुहार रसिलो चम्की रहेको छनि
हेर्दै लौ अनुहार धप्प वलने के हौं र को हौं तिमी ।
हासेरै जितने थियो वलहरू प्राणै सरी बन्दथ्यौ
सम्झी लेख्छु हरेक ज्ञान शिप अौ शिक्षा ठुलो भन्दथ्यौ ।२।
घुर्क्यायौ यसरी कतै मन थियो छाडेर जाने तिमी
लुक्दै आँख मिचौलि झै किन भयो मै संग लड्नै भनि ।
अत्यन्तै मन रून्छ के गरि बुझौंरु पीडा कसोरी सुनौ
आन्द्रा काटि दिएर जन्म तिमरो मात्रै विलौना गरौ ।३।
लेऊ प्रेम भरी छ शव्द उपहारै मात्र पोल्टा भरी
दिन्छौं आशिष सर्वदा सुमनले यै प्राण प्रेमै छरी ।
कस्तो विघ्न दुखेछ त्यो मन गयौ ? आखीर साँच्चै छली
तड्पीए सव लौ तिमीसित विछोड्मा दिन्छु श्रद्धन्जली ।४।
इति
कवि निशा अर्याल, इज्रायल

कान्छो पुत्र राघवप्रति
मैले जन्म दिएर पालन गरें हे पुत्र हे राघव
छोडी जानु रहेछ अल्प दिनमै भेट्ने कहाँ हो अब ।
हुर्काएँ अति दुःख कष्ट सहँदै योद्धा जसै लाग्दथ्यो
तिम्रो स्वर्ण मुहारको चमकता ऐश्वर्य हौ लाग्दथ्यो ।१।
इच्छा थ्यो व्यवसायमा सफलता पाऊँ भनी खट्दथ्यौ
आफ्नो कर्म विचारका गुरु तिमी सत्कर्ममा जुट्दथ्यौ ।
आफ्ना भेट्न र देख्न बुझ्न जहिल्यै आनन्द मान्ने थियौ
छोटो जीवनमा खुशी हुनुहओस् भन्थ्यौ कहाँ अल्पियौ ।२।
मेरो कोख फुलेर फल्न नसकी झर्ने भएँ आख़िर
टुक्रा यो मुटुको चुँडेर लगियो के बाँच्नु हे ! ईश्वर ।
निद्रा छैन न भोक प्यास मनमा तड्पेर मर्ने भएँ
आमाको मृदु प्रेम तड्पिन गई सन्ताप पाल्ने भएँ ।३।
तिम्रो प्रेम मिलेर अन्तिम घडी बाँचू सँगै भन्दथेँ
कान्छो पुत्र समीप वृद्ध बनिँदा भन्दै खुशी बुन्दथें ।
छोड्यौ सून्य भयौ गयौ कुन दिशा उल्टो प्रथा हा ! लियौ
मैले जानु थियो तिमी किन गयौ पालो मिची अल्पियौ ।४।
झार्दै आँसु तिलाञ्जली दिइरहें सम्झेर तिम्रो छवि
तिम्रो मात्र छ सम्झना मगजमा कान्छो भएछौ रवि ।
आऊ भेट्न हरेक रात सपनी न्यास्रो हुँदा आत्तिएँ
राखून् कृष्ण र राधिका सँगसँगै श्रद्धाञ्जली अर्पिएँ ।५।
इति
कवि दुर्गा रिजाल, भर्जिनिया अमेरिकी
वि.सं.२०७५ वैशाख १० सोमवार ०८:४३ मा प्रकाशित






























