मुरलीधर घिमिरे
हलोले जोती दाँदेले फेरि त्यो हिलो सम्याई
कोदाली खनी चप्परी लिई त्योआली लगाई
त्यो बिउ काडी लगेर बाँडी मस्किँदै टोलाई
रोपेको धान छुपुमा छुपु हेर्थेँ म लजाई
उतै छ खेत उतै छ बारी छोडेर हिँडियो
शरीर यता यो मन उता बाध्य भै छोडियो
दोहोरी गीत हली र बाउसे सोल्टिनीबिचको
सुनेको माया प्रीतिका भाका सपनामय भो
दही र च्युरा टपरी दुना अचार थपेको
टिपेर अम्बा पारेर जम्मा ल खाऊ भनेको
कहिले झरी कहिले घाम ओझेल परेको
पर्वाह छैन हिलो छ साथी भनेर रमेको
तन्नेरी जोस भविष्य सोच सुन्दर कामना
संसार बिर्सी कुदेका दिन एकता भावना
हरियो चोला फेरियो होला मनमै कल्पना
साथीले भन नढाँटीकन हुन्न त्यो सम्झना ?
वि.सं.२०७५ असार १५ शुक्रवार १३:५२ मा प्रकाशित






























