७ असोज, काठमाडौँ । नेपाल आयल निगमले शुक्रबार देखि लागू गरेको ईन्धन वितरणमा कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि ईन्धन वितरणमा लागू गरिएको कोटा प्रणाली हटाएको हो । कोटा प्रणाली हटेसँगै उपभोक्ताले चाहेजति तेल पाउने निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए ।
इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।
त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो । मुलुकी संहिताको विरोधमा चालकहरु आन्दोलनमा उत्रिएपछि ईन्धनको ढुवानी असहज बनेको थियो । चालकहरुसँगको सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी सहज बनेको निगमले जनाएको छ ।
वि.सं.२०७५ असोज ७ आइतवार १०:१९ मा प्रकाशित