२१ असोज, टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेको छ । जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम रहेको छ । अमेरिकी विदेश मन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।
टोकियो विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पोम्पेओले भने, आफ्नो एसिया भ्रमण लामो समयदेखि उत्तर कोरियासँग रहँदै आएको शत्रुतापूर्ण सम्बन्धलाई शान्तितर्फ अग्रसर गर्दै अमेरिका र उत्तर कोरियाबीच प्रशस्त विश्वास बढाउनु रहनेछ ।
त्यसपछि हामी अर्को शिखर सम्मेलनको व्यवस्था गर्न गइरहेका छौँ, उनले भने ।
उनले भने, “मेरो भ्रमण आगामी शिखर सम्मेलनको तयारी, स्थान र समय तय गर्नका लागि महत्वपूर्ण हुनेछ ।” “मलाई लाग्छ छलफल पहिलेभन्दा अगाडी बढ्नेछ ।”
ट्रम्प र किमबीच गत जुनमा भेटवार्ता भएको थियो । यसअघि कुनैपनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गरेका थिएनन । मानव अधिकारवादी समूहहरूको नजरमा उत्तर कोरिया विश्वकै सबैभन्दा बढी मानवअधिकारको उल्लङ्घन गर्ने मुलुक हो ।
पोम्पेओले शनिबारै टाकियोमा प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गरेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो ।
जापानले प्योङयाङ नेतृत्वलाई कडा दवाव सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताएको बुझिएको छ ।
पोम्पेओ टोकियोबाट प्योङयाङ जानेछ र त्यसपछि दुवै देशको राय लिएर दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ–ह्वाले हालै वासिङ्टन पोष्टलाई दिएको अन्तवार्तामा अमेरिका र उत्तर कोरियाको आगामी वार्ता के बिषयमा केन्द्रित हुनेछ भन्ने सङ्केत गरेएको छ ।
उनले उत्तर कोरियाले आफ्नो प्रसिद्ध आणविकस्थल योङवायोनलाई नष्ट गर्न त तयार हुनेछ तर यसका लागि अमेरिकाले सन १९५० देखि सन १९५३ सम्म कोरियाली प्रायद्वीपमा चलेको युद्धको औपचारिक अन्त्य भएको घोषणा गर्नुपर्नेछ । उक्त युद्धको अन्त्य शान्ति सम्झौतामार्फत नभई युद्धविराम गर्ने सहमतिबाट अन्त्य भएको थियो तर पटक पटक युद्धविराम भङ्ग हुँदा दुई कोरियाबीच तनाव उत्पन्न हुने गरेको छ ।
पोम्पेओले वार्ताको खाकाबारे नबताइकन भने, “हामी दुई पक्षबीच के गर्न खोजिएको छ सबैलाई जानकारी छ ।”
पोम्पेओ सिओलबाट सोमबार चीनका लागि प्रस्थान गर्नेछ । चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ ।
तर पोम्पेओको बेइजिङ बसाई भने सहज नहुने देखिएको छ । केही दिन पहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यवसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुसी छैन ।
वि.सं.२०७५ असोज २१ आइतवार १२:०३ मा प्रकाशित