८ कात्तिक, काठमाडौँ । नेपालका लागि भियतनामको अवैतनिक वाणिज्यदूतमा डा राजेश काजी श्रेष्ठलाई आइतबार नियुक्त गरिएको छ ।
उक्त अवसरमा नेपालका लागि भियतनामका राजदूत तोन सिन्ह थान्होले एक कार्यक्रमकाबीच लाजिम्पाटस्थित वाणिज्यदूतको कार्यालयको उदघाटन गर्नुभयो । सो कार्यालय स्थापनाले नेपाल र भियतनामकाबीच व्यापार, लगानी र पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने राजदूत थान्होले बताउनुभयो । उहाँले नेपाल र भियतनामकाबीच सांस्कृतिक एकता रहको बताउँदै भियतनामका बुद्ध धर्मावलम्बीलाई नेपालमा पर्यटकका रुपमा भित्र्याएर नेपालले आर्थिक फाइदा लिन सक्ने बताउनुभयो ।
यस्तै वाणिज्यदूत डा श्रेष्ठले नेपाल र भियतनामकाबीच आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पुलको भूमिका निर्वाह गर्ने बताउनुभयो । दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाइदा लिनसक्ने उहाँको भनाइ थियो ।