नैरोबी, ३ माघ । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ । यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह् अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा सयौँ व्यक्ति फेसेका र ती व्यक्तिहरुलाई उद्धार गरिएको यहाँका राष्ट्रपति उहुरु केन्याताले बताए । आतङ्ककारी समूहले करीब २० घण्टा सो होटेल परिसर कब्जामा लिएका जनाइएको छ ।
विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ ।
होटेल परिसरमा फसेका दर्जनौँ व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३ः३० बजे भाग्न सफल भएका थिए । अझै पनि होटेलमा कति व्यक्ति फसेका छन् सो भन्ने प्रप्ट भइसकेको छैन ।
यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।
सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।
सन् २०१५ को अप्रिल २ मा पूर्वीकेन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो ।