
५ माघ, कास्की । परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ ।
नेपाल कृषि इञ्जिनीयरिङको सहयोगमा स्थानीय अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडले परम्परागत र लोपोन्मूख बीउबीजनको संरक्षण गर्ने हेतुले यसै महीनादेखि सामुदायिक बीउ बैंक स्थापना गरेको हो ।
विसं २०७२ को विनाशकारी भूकम्पछि प्रभावित जिल्लामा खाद्य तथा नगदेबालीको स्थानीय बीउ लोप भएपछि नेपाल कृषि इञ्जिनीयरिङले जिल्ला कृषि विकास कार्यालयमार्फत प्रभावित जिल्लामा बीउ बैंक स्थापनाको अवधारणा ल्याएको थियो । सोही अनुसार बीउ संरक्षणका लागि कास्की जिल्लामा सो सहकारीलाई छनोट गरी सहकारीमार्फत सो बीउ बैैंक स्थापना गरिएको हो ।
बीउ बैंकमा धान, मकै, गहुँ, जौ, तोरी, बदामलगायत खाद्य तथा नगदेबालीका लोपोन्मूख र परम्परागत बीउबीजन सङ्कलन गरेर राखिने तथा त्यसलाई सहज रुपमा कृषकमा वितरण गरिने अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष अनन्ता पोखरेल बताइन् ।
सो बीउ बैंकमा कृषकले आफूसँग भएको बीउबीजन लगेर प्रशोधन गरी सुरक्षित साथ भण्डारण गर्नसक्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । बीउ बैंकबाट कृषकले सहज रुपमा आफूले चाहेको खाद्य तथा नगदेबालीको बीउ प्राप्त गर्न सक्नुहुन्छ ।
त्यस्तै उनीहरुसँग रहेको बीउबीजन समेत संरक्षणका लागि बैंकमा ल्याएर भण्डारण गर्नसक्ने व्यवस्था छ । पोखरेलले भनिन्, “धानमा पहेँले, नौलो मार्सी, मार्सी, गुडुरा, फलाऐँ, विरम्फूललगायत लोपोन्मुख प्रजाति, कोदोका असारे, सेतो, रातो, कालो प्रजाति तथा पहेँलो र सेतो प्रजातिका मकैका बीउ ल्याएर बैंकमार्फत कृषकलाई बितरण गर्ने लक्ष्य छ । ”
बीउ बैंक स्थापनाबाट बीउका लागि कृषकले भोग्नु परेका समस्या समाधान हुने तथा हावापानी र माटो सुहाउँदो बीउको मद्दतबाट खेतीबाली लगाउन सहयोग पुग्ने विश्वास स्थानीय कृषक बेदनिधि दवाडीको छ ।
उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले त्यसतर्फ कृषक आकर्षित भए पनि स्थानीय जातका बीउबाट उत्पादित अन्नबाली स्वादिष्ट हुने भनाइ उनको छ ।
बीउ प्रशोधनका लागि रु तीन लाखको लागतमा प्रशोधन मेसिन सञ्चालनमा ल्याइएको छ । शुरुमा बीउ सुकाउने, त्यसलाई प्रशोधन गर्ने र भण्डारण गर्ने गरिएको पोखरेलको भनाइ छ ।
बीउ बैँक स्थापना भए पनि बीउ छनोट, भण्डारण तरिका तथा लोप हुँदै गएका बीउका बारेमा सहकारीका सदस्यलाई प्राविधिक ज्ञान दिलाउन तालीम आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए ।
६१ लाख लागतमा भवन
अन्नपूर्ण महिला प्राङगारिक कृषि सहकारी संस्थाले रु ६१ लाख ११ हजार ५६५ लागतमा संस्थाको भवन तथा सामुदायिक बीउ बैँक भवन स्थापना गरेको छ । दुई तल्लाको पक्की भवनका लागि स्थानीयवासी चन्द्रावती पोखरेलले निःशुल्क रुपमा जमीन दान गर्नुभएपछि संस्थाले विसं २०७३ बाट भवन निर्माण शुरु गरेको थियो । सो भवनको पहिलो तला बीउ भण्डारणका लागि प्रयोग गरिने भएको छ भने दोस्रो तला सहकारीको कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याइने अध्यक्ष पोखरेलले जानकारी दिए ।
कृषि इञ्जिनीयरिङको रु ५१ लाख ६४ हजार १७०, संस्थाको रु आठ लाख ४७ हजार ३९४ तथा गाउँपालिकाको रु एक लाख लागतमा सो भवन निर्माण गरिएको हो । बीउ प्रशोधन मेसिन तथा बीउ सुकाउने प्रयोजनका लागि एक रोपनी जमीन १५ वर्षका लागि भाडामा लिएर अर्को भवन स्थापना गरिएको छ ।
विसं २०६४ मा ३२ जना सदस्यबाट स्थापना भएको संस्थामा हाल ११३ जना सदस्य रहेको र रु २५ लाख ४३ हजार शेयर पूँजी रहेको छ । संस्थाले न्यून आयआर्जन भएका महिलालाई सहकारीमा आवद्ध गराइ गाईभैँसी खरीद, तरकारीखेती तथा व्यवसाय स्थापनाका लागि लगानी समेत गर्दै आएको बताइन्छ ।
सहकारीले करीब १० रोपनी जमीनमा वर्षेनी बदामखेती गरेर त्यसबाट आयआर्जन गरी नगदेबाली बदामको संरक्षण गर्दै आएको सहकारीका उपाध्यक्ष मीना सापकोटा पौडेलले बताए ।
वि.सं.२०७५ माघ ५ शनिवार १५:५४ मा प्रकाशित