११ कात्तिक,नवलपरासी । नवलपरासीमा स्थानीय तह पुनः संरचना आयोगले आफ्नो काम तीव्र रुपमा अघि बढाएको छ । स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले जिल्लामा मापदण्डका आधारमा गाउँ वा नगरपालिका निर्धारण गरिएको आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिन तीव्रका साथ काम अघि बढाएको हो ।
यसअगावै विभिन्न दल, सङ्घ संस्था, स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरेको समितिले अब यसलाई दलीय सहमतिमा अन्तिम रुप दिन लागिएको स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक लालकृष्ण शर्मा पौडेलले बताउनुभयो ।
नवलपरासीको जनसङ्ख्याअनुसार जिल्लामा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने अवस्था देखिन्छ । आगामी कात्तिक २० गतेभित्र समितिले आयोगलाई सिफारिस गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव एवम् योजना अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।
नयाँ कार्यविधिअनुसार जनसङ्ख्याका आधारमा सङ्ख्यात्मक विषयवस्तुमा दलहरुबीच पूर्णरुपमा सहमति बन्न नसक्दा समयमै स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लाग्न नसकेको हो ।
जनतालाई प्रत्यक्ष सुविधा हुने गरी दलीय सहमतिमा आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताउनुभयो ।
नयाँ कार्यविधिमा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने गरी आयोगलाई सिफारिस गर्ने तयारीमा समिति रहेको छ । नवलपरासीको कुल जनसङ्ख्या करिब रु सात लाख रहेको छ । रासस

