back
CTIZAN AD

नेपालमा सन्ध्याकालीन अदालतको संभावना

वि.सं.२०७५ फागुन १२ आइतवार

783 

shares

संसारको न्याय संपादन प्रणालीको अध्ययन गर्दा विभिन्न मुलुकहरुले प्रचलित कमन ल र सिभिल ल प्रणालीमध्ये कुनै एक प्रणालीको मूलभूत मान्यतालाई नै खास आधार बनाएर आफ्नो राष्ट्रको न्यायप्रणाली व्यवस्थित गरेका छन् । कतिपय राष्ट्रले यी दुबै प्रणालीको मिश्रित स्वरुप विकास गरी लागू गरेका छन् । न्याय प्रणाली जुनसुकै अपनाए तापनि न्यायको वास्तविक उद्देश्य एउटै रहेको हुन्छ, – जनतालाई छिटो, छरितो, स्वच्छ, सर्वसुलभ, निस्पक्ष र स्वतन्त्र न्याय प्रदान गर्नु । यो हरेक लोकतान्त्रिक मुलुकको न्यायसम्बन्धी उद्देश्य हो ।

विद्यमान कानून प्रणालीभित्र न्याय सम्पादन गर्दा सर्वप्रथम देवानी तथा फौजदारी मुद्दाको कार्यबोझलाई विचार गरेर छिटो, छरितो, सुलभ न्याय प्रदान गर्ने राज्यको उद्देश्य पूरा गर्न विभिन्न प्रभावकारी माध्यम तथा सिर्जनात्मक उपायहरू अपनाउन सकिन्छ । यसै क्रममा विश्वका विकसित तथा विकासोन्मुख मुलुकहरूले सामान्य प्रचलनमा रहेको दिवाकालीन अदालत (Day time court) को अतिरिक्त सन्ध्याकालीन अदालत (Evening court) वा रात्रीकालीन अदालत (night court) प्रणाली समेत लागू गरेको पाइन्छ ।

केही मुलुकहरूले अपनाउँदै आएको यस प्रकारको अभ्यास हाम्रो सन्दर्भमा पनि अध्ययन र रुचीको विषय हुन सक्दछ । अतिरिक्त समयमा अदालत सञ्चालन गर्नुका केही खास उद्देश्य छन् । ती उद्देश्य मध्ये पहिलो, नियमित समयमा आफ्नो पेशा, व्यवसाय वा अन्य कारणले अदालत आउन अनुकूल नभएका सेवाग्राहीहरूका लागि वैकल्पिक व्यवस्था मिलाई न्यायमा सुविधा प्रदान गर्नु हो । दोस्रो, न्यायमा जनताको सहज पहुँच बढाउनु हो भने तेस्रो, नागरिकको वैयक्तिक हक अधिकारको संरक्षण गर्ने प्रभावकारी न्यायिक संयन्त्र निर्माणका लागि सेवा प्रदान गरिने समय विस्तार गर्नु हो । नियमित समयमा सञ्चालन भएका अदालतको वढ्दो कार्यवोझलाई आधुनिक र सुविधाजनक ढंगले व्यवस्थापन गर्नु यसको चौथो उद्देश्य हो ।

यी उद्देश्य प्राप्तिका लागि अतिरिक्त समयमा अदालत सञ्चालन गर्नु आवश्यक ठानिन्छ । अमेरिका, सिंगापुर, मलेसिया, भारत लगायतका कतिपय देशमा रात्रीकालीन वा सन्ध्याकालीन अदालत सञ्चालनको सफल अनुभवबाट हामीले पनि केही सिक्न सक्दछौं । यस्तो अभ्यास गर्दै आएका मुलुकमा स्वयम मुद्दाका सरोकारवालाहरूबाट नै यस प्रकारको अदालत सञ्चालन गर्नु आवश्यक छ भन्ने धारणा व्यक्त भएको छ ।

नेपालमा पनि बढ्दो शहरीकरण र कामकाजी मानिसहरुको दिउँसोको समय, श्रमको सदुपयोग र सुविधालाई ध्यानमा राखी मुद्दाको बढी चाप भएको, ठूला शहर, यातायात, सञ्चार, सुरक्षा तथा नमूना कार्यक्रम लागू गर्ने सन्दर्भमा गरिनु पर्ने नियमित अनुगमन, मूल्याङ्कन समेतका दृष्टिले सहज रहेका केही शुरु तहका अदालतहरुमा यस पद्धतिलाई अपनाउन उपयुक्त हुने देखिन्छ ।

हामीकहाँ केही वर्ष अघि सर्वोच्च अदालतको पहलमा यसको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार भईसकेको हो । साथै म्याद थप र अधिकृत वारेसनामा सम्म गर्नका लागि काठमाडौ ललितपुर रुपन्देही लगायतका केही जिल्ला अदालतमा सन्ध्याकालीन कार्य थालनी भएको पनि हो । पछि यो त्यसै हराएर गयो ।

यस परिप्रेक्ष्यमा अब गम्भीर प्रकृतिका मुद्धा बाहेक सामान्य खालका मुद्धाहरु जस्तै फौजदारीमा ३ वर्षभन्दा कम सजाय हुने र देवानीमा निश्चित विगो तोकी सो हदसम्मका मुद्धाहरु सन्ध्याकालीन अदालतबाट हेरिने पद्धति लागु गर्न वाञ्छनीय हुनेछ ।

खासगरी मुख्य सरोकारवालाहरू नेपाल सरकार, नेपाल बार, सरकारी अभियोक्ता, नागरिक समाज र मुद्दाका पक्षहरु समेतसंग छलफल गरी यस प्रकारको अदालत सञ्चालन गर्दा सकारात्मक परिणाम आउने छ भन्ने विश्वास गर्न सकिन्छ ।

आवश्यकता, साधन, स्रोत र सुविधाको दृष्टिकोणबाट संभव रहेका तथा मुख्यतः कार्यबोझ नै बढी भएका शुरु तहका अदालतहरुमा नियमित समयका साथै अतिरिक्त समयमा पनि अदालत सञ्चालन गर्ने पद्धति प्रयोगमा ल्याउँदा मुद्धको अतिरिक्त चाप कम हुन गई अवश्य पनि वर्षौंदेखि फैसला पर्खिएर बसेका जनताको न्याय पाउने कार्यमा छिटो छरितो हुनगई उनीहरुको न्यायमा सहज पहुँच पुग्नेछ ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:४९ मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...