
आज उनै गिरीजाबाबुको उत्तराधिकारी बताउने भतिज शसांकले बाबु र काकाहरुको कुल लगानीबाट प्राप्त गणतन्त्र बारे विवादास्पद बोल्न थालेका छन् । २०७४ को चुनावले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न दिएको जनादेशबाट … धर्म निरपेक्ष, गणतन्त्र र संघीयताको जनमत संग्रह गर्न कांग्रेस तयार भएको खुलै बोलेका छन् ।
मान्छे मरेर गैसकेपछि उसको समिक्षा किन गर्नु ? सायद यस्ता प्रश्न मेरो टिप्पणीमा आउलान् । अर्थात् ‘बाचुन्जेल धारेहात–मरेपछि जिन्दावाद’ भन्ने घोचपेच पनि आउलान् । यस्ता सबै संभावित तर्कनाहरुको लेखाजोखा गरेर नै मैले गिरीजाबाबुलाई फेरि पनि संझिने धृष्टता गरेको छु ।
चैत्र ७ गते नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हामीलाई औपचारिक ढंगले छाडेर गएको दिन । आज उनको संझनामा औपचारिक र अनौपचारिक गरी स्वदेश तथा विदेशका नेपालीले विभिन्न कार्यक्रम पनि आयोजना गरीरहेका छन् ।
यस्तो अवसरमा उहाँलाई नसम्झिई बस्न मेरो मनले पनि सुखै दिएन ।
व्यक्तिगत रुपमा उहाँको पार्टी नेपाली कांग्रेससँग कहिल्यै आवद्ध रहिन तर, मेरो राजनैतिक जीवनको ३६ वर्षमा कांग्रेस, विपी र गिरीजाबारे थाहा पाइरहें । ‘कांग्रेसले राजासँग घाँटी जोडेको, गिरीजावावु पंञ्चायतसँग कुरो मिलाएर बसेको, कांग्रेसलाई प्रतिबन्धको प्र राखेर प्रनेका को रुपमा जमलमै पार्टी अफिस खोल्न दिईएको, कांग्रेसको आधारभूत चरीत्र सामान्तवादी रहेको र विकृत तथा दलाल पुँजीवाद उन्मुख रहेको तथा भारतीय गोटी बनेर नेपाली राजनीतिमा सक्रिय हुने गरेको आदि ईत्यादि धेरै विभूषणहरु सिकाएर .हामीलाई कांग्रेस विरोधि कम्युनिष्ट बनाइएको रहेछ भन्ने पछिल्ला दृष्टान्त र समिक्षाले अनुभुत गराएको छ । आफूँ असल कम्युनिष्ट कसरी बन्ने भन्दा पनि कांग्रेससँग बढि भिड्ने भन्ने नियत राखिएकाहरुबाट हामी प्रशिक्षित भएका रहेछौं । यद्यपी त्यो प्रशिक्षण र ओरियन्टेशनप्रति गुनासो रहेको छैन । शायद त्यहि कारणले होला, अहिले आफै संलग्न पार्टी र नेताहरुमा पनि प्रश्न उठाउने नैतिक बल त मिलेको छ ।
२०४६ को बहुदल प्राप्तिको आन्दोलनपछि गिरीजावावु धेरैपटक प्रधानमन्त्री हुने अवसर पाउनु भयो । आफै प्रधानमन्त्री नभएपनि विचको २ वर्षे संकटकाल तथा राजाको प्रत्यक्ष शासन बाहेक २०४७ देखि २०६७ सम्मकै प्रत्यक्ष अप्रत्यक्ष शासनको बागडोर लिइरहनु भयो । यसवीचमा हामीले कतिपटक गिरिजाबाबु भनेर सम्बोधन नगरी होलो होचो गर्दै ‘गिर्जाउ’ समेत भन्यौ र भन्न लगायौं । नेपाली राजनीतिमा भएका विकृति र गलत अभ्यासहरुको उपयोगमा जानी नजानी प्रयोग भएरै आयौं ।
वास्तवमा ओरियन्टेशनबाट जन्मेको आक्रोश गिरीजावावु सँग व्यक्तिगत रुपमा थिएन । सामान्तवादको मतियार र विस्तारवादको भरियाका रुपमा बुझेीएको नेपाली कांग्रेस प्रति थियो । आक्रोश कृष्ण प्रसाद कोइरालाको छोरा वा मातृका र विपीको भाइ भएर पनि होइन । गिरीजावावुले २०४७ मा बेढंगंले बोलेको याद आउछ । ‘माले–मसाले र मण्डले’ एकै हुन । उहाँ कसरी र कुन रुपमा प्रयोग हुनुभयो, त्यो पनि थाहा थिएन तर हामीमा पनि उग्रतै आयो । भनिदियौं ‘तालु खुईले–गिरीजा भारततिरै छिरीजा’ ।
यो छोटो सम्झनामा सबै उल्लेख गर्न सम्भव छैन । तर, बाचुन्जेल नै नेपाली राजनीतिको मुख्य व्यक्तिका रुपमा रहेका गिरीजावावु जहिले पनि प्रष्टै बोलेर आएका हुन् । हामी कम्युनिष्टहरुलाई ओरियन्टेशनमा भनिन्थ्यो ‘गिर्जाको बौद्दिकता भएका कारण विपीले सधै उनलाई ‘हल्दार’ भन्दै आएका थिए । उनका कमजोरी २०४६ पछि पनि नदेखिएका होइनन् । प्रारम्भमा उनले कम्युनिष्टलाई पनि सहेर जानु पर्छ भन्ने सोचेनन् । पार्टीभित्र पनि गणेशमानहरु प्रताडित र अपमानित हुनुपर्यो । कृष्ण प्रसाद भट्टराई त धकेलिएरै मर्नुपर्यो ।
होलो होचो, अपमान र तिरस्कार राजनीतिकर्मीले सहन सक्नु पर्छ नैं । तर, गिरीजावावुले पेलेका, ठेलेका र घचेटेका मान्छेहरुले कांग्रेसलाई शुद्धिकरण अभियानमा लैजान ठोस र प्रभावकारी पहल गर्न सकेनन् । गिरीजाबाबुका कतिपय कमजोरी बुझेर नै देउवाले पार्टी फोर्दै र कोइराला भन्दा राजासँग घाटी जोड्न बढि तत्पर भए । पछिल्लो समय कांग्रेसलाई विधि, नीति, पद्दतिमा चलाउन आवस्यक भयो भनेर महसुस गरिसकेका गिरीजाप्रसादलाई आफ्नै किचनका व्यक्तिहरुले असहयोग गरे । आफूले सत्ताको दोहन गर्न पाउने बेलामा …यस्तो… ? भन्दै गिरीजाबाबु सँग नै खनिए । यिनै परीघटनाका बिच गिरीजावावु राजाले तोकेको रत्नपार्कको घाममा क्रान्तिकारी बनेर उभिनु पर्यो ।
कम्युनिष्टप्रति असहिष्णु भनिएका गिरीजा बाबुले राजाको लातपछि अमिक शेरचन, माधव नेपाल, लीलामणि, नारायणकाजी,कृष्ण सिटौला, बामेदवहरुको सहयोगमा जनयुद्धरत माओवादीसँग वार्ता गरे । कांग्रेस गणतन्त्र भन्दा तल नओर्लने सपथ खाए । यद्यपी कांग्रेसको संस्थागत प्रभाव राजतन्त्र फाल्ने तहसम्म नपुग्ला भनेर नरहरि आचार्यले कांग्रेसभित्रै गणतन्त्र अभियान चलाइरहेका पनि थिए । जीवनका सबै ठक्कर र लोकतन्त्रको मूल्यका लागि जनयुद्धमा रहेको माओवादीसँग पनि उनले साथ खोजे । भित्रि र बाहिरी दुनिया मिलाउने गिरीजावावुको यो प्रयासले अन्तत मूलुक गणतन्त्रमा आइपुग्यो ।
चालु गणतन्त्रमा गणतान्त्रिक संस्कृति कति छ, छैन, त्यसको छुट्टै विश्लेषण गर्न सकिन्छ । तर, गोलमेच सम्मेलन, अन्तरीम सरकार र संविधानसभाको कोर्ष मागेको तत्कालिन विद्रोही शक्तिसँगै उनी २४० वर्ष पुरानो राजतन्त्र फाल्न पूरै लागे । यसभित्र पार्टी–पार्टी भित्रका अन्तरविरोध त आफ्ना ठाउँमा छदै थिए, त्यसबाहेक कांग्रेसभित्र भारत र राजा खेलिरहेको कुरो उनले अमिक शेरचनसँग प्रष्टै भनेको सार्वजनिक भैसकेको छ ।
गिरीजावावुको पछिल्लो राजनैतिक अडान र सक्रियताका कारण उनलाई राष्ट्रपतिको रुपमा हेर्ने नेपाली जनताको चाहना पूरा भएन । यसमा स्वदेशी विदेशी तत्व कुन रुपमा कसरी खेले त्यो पनि प्रष्टिदै जाला तर तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड स्वयमले पनि गम्भीरताका साथ आत्मसाथ’ गरेको बताउँदै आएका छन् ।
आज उनै गिरीजाबाबुको उत्तराधिकारी बताउने भतिज शसांकले बाबु र काकाहरुको कुल लगानीबाट प्राप्त गणतन्त्र बारे विवादास्पद बोल्न थालेका छन् । २०७४ को चुनावले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न दिएको जनादेशबाट छटपटिदै धर्म निरपेक्ष, गणतन्त्र र संघीयताको जनमत संग्रह गर्न कांग्रेस तयार भएको खुलै बोलेका छन् । झण्डै दुहाइ तिहाइ मतमा नेकपा नेतृत्वको सरकारबाट जनअपेक्षा अनुरुप काम नभएको टिप्पणी बढेका बेला शसांकले प्रतिगमन उन्मुख फायर खोलेका छन् । यस्तो स्थितिमिा कांग्रेसभित्र र बाहिरका सबै गणतन्त्रवादीले गिरीजावावुलाई नसंझी बस्न कहा सकिन्छ ।
वि.सं.२०७५ चैत ७ बिहीवार १३:५९ मा प्रकाशित





























