
१९ बैशाख, काठमाण्डौ । वरिष्ठ आख्यानकार डा. ध्रुव चन्द्र गौतमलाई यसवर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार -२०७६’ प्रदान गरिने भएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा बैशाख १७ गते बसेको प्रतिष्ठानको बैठकले आधाशताब्दीभन्दा अघिदेखि नेपाली वाङ्मय जगत्मा विशेषगरी आख्यान विधामा महत्त्वपूर्ण योगदान दिने वरिष्ठ आख्यानकार डा. गौतमलाई यस वर्षको “युगकवि सिद्धिचरण पुरस्कार –‘२०७६’प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।
एक लाख राशिको उक्त पुरस्कार प्राप्त गर्ने डा. गौतमका दुई दर्जन अधिक उपन्याससहित ५० भन्दा बढी कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी यस वर्षको ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार –‘२०७६’ आधा शताब्दी अघिदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने वरिष्ठ पत्रकार होमनाथ दाहाल, ओखलढुंगालाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि एकाउन्न हजार रहेको छ ।
प्रतिभा चयनका लागि प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा प्रा.डा. उषा ठाकुर तथा सूबसेन सदस्य रहेको पुरस्कार छनौट उपसमिति गठन गरिएको थियो ।
उक्त पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीको अवसरमा यही जेठ ९ गते प्रदान गरिने कुरा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले बताए ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ०८:५० मा प्रकाशित






























