२७ बैशाख, गाईघाट । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको आरोप पृष्टि भए पार्टी सभापति शेरबहादुर देउवालाई पनि कारबाही गर्न पछि नपर्ने बताएका छन् ।
प्रेस युनियन उदयपुरले शुक्रबार बिहान उदयपुरको गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
नेता पौडेलले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको बताएका थिए ।
उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको धारणा समेत राखेका थिए ।
नेता पौडेलले अहिले सक्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र सङ्घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव समेत दिएका थिए ।
उनले काङ्ग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने बताए ।
वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाव नेता पौडेलको थियो ।
त्यस्तै पार्टीको महाधिवेशनमा आफूले पनि आवश्यक परे सभापतिको उम्मेदवार बन्न सक्ने नेता पौडेलको भनाइ थियो ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार १२:३४ मा प्रकाशित