back

 सयौँ पुतली

वि.सं.२०७६ वैशाख २८ शनिवार

99 

shares

कर्किनी आमै । हाल समाजले उनलाई दिएको नाम यही थियो र यसमा उनलाई कुनै गुनासो पनि थिएन ।

ललितपुरको दक्षिणतिर पर्ने छम्पी गाउँको काँचो इँटा र माटोले बनेको पुरानो शैलीको त्यो घरमा उनले जीवनका सत्तरी वर्ष बिताइन् । उनी अहिले असी लागिन् तर अझै पनि उनी आफैँ पकाएर खान्छिन् । भन्छिन्, ‘हात पाखुरा लागुन्जेल अर्काको भर पर्नुहुँदैन ।’

उनका बारीमा मकैका लामालामा घोगा फल्थे । फर्सीका मुन्टा लहलह लहरिन्थे । उनका बारीमा फलेका फूलकोपी र बन्दाकोपीका डल्ला अरूका बारीमा भन्दा दुगुना ठुला हुन्थे । वर्षैभरि उनका बारीमा सिजन अनुसारका सागपात हलहल लहरिरहेका हुन्थे । बारीको छेउमा सानो कटेरो बनाएर एउटा गाई पनि पालेकी थिइन् । गाई ब्याउन छोड्यो । गाईको चाकर गर्न उनी नसक्ने भइन् । आँखाभरि आँसु पार्दै पोहोर साल मात्र त्यो गाईलाई सदाका लागि फुकुवा गरिदिइन् ।

उनी राजधानीसँगै जोडिएको जिल्ला नुवाकोटको तारूकामा जन्मिएकी हुन् । अँध्यारो अनुहार पारेर उनले एक दिन भनेकी थिइन्, ‘म त माघे सङ्क्रान्तिमा जन्मिएकी थिएँ । गाउँमा गोरू जुधाउने खेल हुँदै थियो । मेरा बाले पनि माघे सङ्क्रान्तिको मेलामा जुधाउनकै लागि भनेर गोरू पालेका थिए । असाध्यै जब्बर गोरू थियो रे । मेलामा जुद्धाजुद्धै गोरूको सिङ भाँच्चियो । बाले पालेको गोरू हा¥यो । मेलाबाट फर्किने बेलामा गोरू बौलायो । उसले मेरा बालाई हिर्काएर भिरबाट लडाइदियो । बा ठाउँको ठाउँ ठहरै भए । जन्मँदै टुहुरी भएकी थिएँ म ।‘

आफ्नोे न्वारानको नाम त उनैलाई पनि थाहा छैन । होस समाल्दा उनले सुनेको आफ्नोे नाम थियो – सेती ।

‘आइमाईको एउटै नाम काँ हुन्छ र ?’, उनको सक्कली नाम सोध्नेलाई यसै भन्थिन् ।

खिरिलो सानो शरीर । पातला ओठमाथि चुच्चो नाक । गहिरो खाडलभित्र टल्किएका जूनकिरीजस्ता आँखा । अनि सयौँ मुजा परेको उनको अनुहार । तर नियालेर हेर्दा उनको त्यही मुहारभित्र अर्को मुहार लुकेको जस्तो लाग्थ्यो । एउटा उज्यालो र मुलायम मुहार । रहर र सपनाहरुले भरिएको अर्को मुहार ।

कर्किनी आमै बिहानदेखि बेलुकासम्म सागबारी खनीखोस्री गर्थिन् । अहिलेसम्म उनको जाँगरलाई कुनै रोगले आफ्नो जालमा पार्न सकेको थिएन । उनको जाँगरभन्दा सुन्दर त बोली थियो । हो, त्यही बोलीको प्रभावले तानिँदै तानिँदै म उनको सागबारीसम्म पुग्थेँ, एक मुठो साग किन्न ।

त्यस दिन पनि म उसै गरी कर्किनी आमैको बारीमा पुगेँ । साग किनेपछि मैले दिएको पैसालाई उनले आनोे पटुकीको एकातिरको फेरमा जतनसाथ गाँठो पारिन् र जीवनले दिएको दुर्भाग्यलाई अर्को फेरबाट फुकाउँदै लगिन् । मलाई उनको यो गतिविधि कलात्मक लाग्यो । त्यही पटुकीमा उनको आत्मविश्वास र आत्मसम्मान बाँधिएको अनुभव भयो ।

उनले जीवनको धेरै लामो काल खण्डसम्म आफ्नो दुर्भाग्यलाई बिहानै उठेर फेर्ने मैलो धोतीको फेरसँगै लतार्दै घिसार्दै आएकी थिइन् । भोकले तिनको पेट खुकुलिँदा बेला कुबेला ती दुर्भाग्यहरु छरपस्ट भइदिन्थे । तर समयसँगै कनिकाझैँ छरिएका आफ्ना दुर्भाग्यका बिस्कुनलाई जसोतसो बटुल्दैबटुल्दै यो उमेरसम्म आइपुगेकी थिइन् ।
०००

बा मरेपछि उनकी आमा तारूकामा बस्न सकिनन् । जोरीपारीले टिक्नै दिएनन् । अन्ततः उनकी आमा आरूबारीतिरका एक जना अधबैँसेसित गइन् । उनले अब सानै उमेरमा सौतेनी बातिरका भाइबहिनी स्याहार्नुपर्ने भयो । उनलाई झुम्राका पुतलीसँग खेल्ने धित मरेकै थिएन । एक दिन उनलाई सौतेला बाले फकाउँदै भने, ‘काठमान्डुमा त कति धेरै पुतली पाइन्छ ! पुतली किन्न जान्छेस् सेती ?’

त्यति बेला उनको खुसीको कुनै सीमा रहेन । दौडिइन् आफ्ना दामले साथीहरुलाई यो खबर सुनाउन । सेती पुतली किन्न काठमाडौँ जाने कुरामा उनी जत्तिकै खुसी भए उनका साथीहरु पनि । साथीहरुलाई पनि पुतली ल्याइदिने बाचा गरिन् सेतीले ।

काठमाडौँ उनका लागि सपनाको सहर थियो । त्यहाँको भव्यता र रौनकका बारेमा उनले धेरै सुनेकी थिइन् । तर देखेकी थिइनन् । अत्यन्तै उत्साहका साथ सौतेला बा र आमासित नुवाकोटबाट काठमाडौँ आइन् सेती । तर काठमाडौँमा उनले कतै पनि पुतली देख्न पाइनन् । बरू उनी आफैँ बाआमाको हातको पुतली भइन् । उनलाई बाआमाले गुहेश्वरी मन्दिरमा टिकोटालो गरेर एउटा वयष्क युवकको हातमा सुम्पिदिए ।

त्यसपछि उनी आफूभन्दा दोब्बर उमेरको जब्बर कार्की माइलाको हातको पुतली भइन् । रूँदै र लुरूलुुरू मसिना पाइला टेक्दै कार्की माइलाको पछिपछि छम्पी आइपुगिन् । उनी अब नुवाकोटकी सेतीबाट कर्किनी माइली भइन् । काठमाडौँ त देखिन् उनले तर उनलाई काठमाडौँले प्रभावित पारेन । उनले घण्टाघर देखेको दिनदेखि नै उनको दुर्भाग्यका समय सुरू भए । उनी धरहरानिर उभिएको दिनदेखि उनको अस्तित्व बामपुड्के भयो । न्युरोड, र आसपासको भव्यताले उनी मूल्यहीन भइन् । उनी नुवाकोट हुँदा काठमाडौँलाई सपनामा देख्थिन् । तर, काठमाडौँ आएपछि उनलाई आफ्नो सपनाले तर्सायो । सोचिन् सपना त तर्साउने कुरा पो रहेछ ।

छम्पीमा उनको घरनजिकै एउटा पुरानो दह थियो । उनी जबजब त्यो दहतिर हेर्थिन्, उनलाई आनोे जीवन दहझैँ स्थिर लाग्थ्यो । दहमा सिमकुखुराहरु ओहोरदोहोर गरेर वातवरणलाई रमणीय बनाउँथे । तर उनको जीवनमा दुर्भाग्यको आवतजावत बाहेक केही भएन ।

कर्किनी माइलीले आफ्नो कर्मघरको भान्सामा बिहानबेलुका धुँवाउँदै बलेको आगाको न्यानो त तापिन् तर त्यस घरमा बस्ने आफन्तको साथ र न्यानोपन कहिल्यै महसुस गर्न पाइनन् । बिहान चार बजेदेखि उठेर घरधन्दामा लाग्दा पनि बेलुकाको धन्दा सक्दा आधा रात भइसक्थ्यो । थकाइ मेट्न यसो ढल्केकी मात्र के हुन्थिन्, कोठामा रक्सीको गन्ध र लोग्नेको गाली एकैपल्ट हुत्तिँदै आइपुग्थ्यो । लोग्ने घर पस्दा झुपडीमा बाढी पसेजस्तो अनुभव हुन्थ्यो कर्किनी माइलीलाई । कार्की माइलो कराउँथ्यो, ‘ए रन्डी, लाज सरम हरायो तेरो ? लोग्ने भनेको भगवान् हो भन्ने थाहा छैन तँलाई ? तेरी आमाले केही सिकाइन तँलाईँ ? भगवान्लाई नपर्खिकनै सुत्छेस् ?’

अनि सुरूवालको तुना खोल्दै देखाउँथ्यो, ‘यो हो तेरो लोग्ने । ढोग् यसलाई ।’

ऊ त्यति बेलासम्म उनको फरिया लुछ्न आइपुगिसकेको हुन्थ्यो ।

सुरूसुरूमा त उनले सहनुबाहेक केही उपाय भेटिनन् । आइमाईको जात सहनै जन्मेको भन्ने ठानिन् । तर, छोराछोरी हुर्कँदै गएपछि भने तिनको आडमा झिनो स्वर निकाल्न थालिन्, ‘सधैँ जाँड खाने पैसो ता कमाउन सक्दारहेछौ । छोराछोरी र स्वानीको नाङ्गो आङ कहिल्यै देखेनौ । यस्ता मान्छेले किन बे गर्नु ?’

सासू त्यहीँ हुन्थिन् । तर बुहारीको पक्ष लिएर बोलिदिएको कहिल्यै थाहा पाइनन् कर्किनी माइलीले । सासू प्रायः मौन बसिदिन्थिन् । सासूको ओठमा केहीले काटेको एउटा गहिरो दाग थियो । कर्किनी माइलीले त्यो दागको बारेमा अरूबाटै सुनेकी हुन् । उनको लोग्नेले हिर्काएर त्यस्तो भएको अरे । त्यो दागले गर्दा उनी हाँस्दा विरुप देखिन्थिन् । त्यसैले सासू हाँसेको कहिल्यै देखिनन् कर्किनी माइलीले । मौनता उनको ओठ र मुहार सबैतिर टाँस्सिएको थियो ।

सासू निकै लामो समयसम्म थला परिन् । बिमार झन्झन् बढ्दै गयो । एक दिन बुहारीको हात समातेर बिस्तारै भनिन्, ‘मलाई पनि पुतली खेल्ने रहर थ्यो । कहिल्यै खेल्न पाइनँ । खेल्ने खाने उमेरमै बुहार्तन खप्न आउनुप¥यो । यहाँ आएपछि हाँस्न त कहिल्यै पाइनँ । मन फुकार रून पनि पाइनँ ।’

त्यसका केही बेरमै उनी मरिन् । मर्दा पनि उनले बुहारीको हात समातिरहेकै थिइन् । सासूले कहिल्यै माया गरेको थाहा पाइनन् कर्किनी माइलीले तर सासू मरेपछि भने एक्लो र अझै असहाय अनुभव गरिन् ।
००
पाँच जना चिचिला छोराछोरीको पेट पाल्न कर्किनी माइली बिहान अँध्यारैदेखि अर्काको घरमा भाँडा माझ्न जान्थिन् । लखतरान भएर बेलुका घर आउँदा लोग्ने बौलाइरहेको हुन्थ्यो, ‘ए रन्डी, कसको ओछ्यान तताउँदै थिइस् हँ यति बेरसम्म ?’

साँझमा सबैका घरमा दियो बालेर पूजाको घण्टी बज्दा उनका घरमा कोकोहोलो र रूवाबासी चल्थ्यो । आमालाई बाले लात हान्न थालेपछि छोराछोरी आमाको फरिया समात्दै चिच्याउन थाल्थे ।

बेलाबेलामा उनको मनले साह्रै हरेस खान्थ्यो ।

‘यो बित्थाको जुनी के घिसारिरहनु ? बरू यै बोके दहमा हाम्फालेर मरिदिन्छु ।’

उनले सुनेकी थिइन्, राति दश बजेपछि बोके दहमा नाग आउँछ । त्यति बेला दहमा गयो भने नागले डसेर मरिन्छ । अति भएपछि एक दिन राति बोके दहमा गइन् उनी । तर धेरै बेर बस्दा पनि न नाग आयो, न दहमा हाम्फाल्नै सकिन् ।

आफ्ना कलिला, नाङ्गाभुतुङ्गा छोराछोरीको अनुहार नै उनको लागि दह जाने बाटो छेक्ने मोटो डोरी बनिदियो । मर्ने भावना त्यागेर छोराछोरी सम्झिँदै हतारहतार घर फर्किन् ।

कर्किनी माइलीलाई छोराहरु हुर्कँदै गएपछि स्थिति सुुध्रिएला भन्ने लागेको थियो । तर, त्यस्तो भइदिएन । अलिक हुर्किएपछि त जेठो छोरो पनि उसै गरी लरबरिँदै घर आउन थाल्यो । बिस्तारै अरू दुई छोराले पनि बाबुको बिँडो समातिहाले । सुरू सुरूमा त उनले धेरै सम्झाइन् । हप्काइन् । कुटिन् पनि तर पुर्खाको बिँडो थाम्ने काममा छोराहरु इमानदार भएर लागिसकेका थिए । उनको केही लागेन ।

बीस वर्ष नपुग्दै तीनवटै छोराले बुहारी भित्रयाए र केही दिनमै घर छोडेर निस्किए । दुई छोरी पनि पन्ध्र वर्ष नकट्दै पोइला गए । समय र परिस्थितिसँग जुध्दाजुध्दा कर्किनीको मुख पनि अब छुराजस्तो धारिलो हुन थालेको थियो । पहिलेपहिले कार्की माइलाको मात्र एकोहोरो प्रहार हुन्थ्यो भने अब दोहोरो भिडन्त हुन थालेको थियो । जाँडले र उमेरले शिथिल हुँदै गएको कार्की माइलो धेरै बेर कर्किनीसँग भिड्न सक्दैनथ्यो र कुनामा पसेर टाउको र पिँडुला सुमसुम्याउँदै बिँडी सल्काउन थाल्थ्यो । उनी फतफताउँथिन्, ‘यो जँड्याहा मरेका दिन म एक थोपो आँसु झार्दिनँ । बरू नाच्छु सबैका अगाडि । कति खुसी भएर नाच्छु ।’

कार्की माइलालाई जन्डिस भयो । जन्डिसले पहेँलो भएका बेला पनि उसले रक्सी खान छाडेन । अन्त्यमा कलेजो कुहिएर मर्यो ।

आँगनमा लोग्नेको लास थियो । शङ्खको एकोहोरो धुन बजिरहेको थियो । छरछिमेकी ,नातागोता सबै भेला भए । तर, कर्किनी माइली कोठाबाट निस्कँदै निस्किनन् । छिमेकीहरुले भने, ‘कर्किनीको कोठामा गीत बजिरहेको छ ।’

‘के तपाईँ साँच्चै नाच्नुभएको थियो त्यो दिन ?’ मैले सोधेँ ।

तर उनले मेरो प्रश्नको जवाफ दिइनन् । हाँसिरहिन् । धेरै बेरपछि भनिन्, ‘म त त्यो दिन साँच्चै सद्दे भएकी थेँ नि नानी । जता हेर्यो त्यतै उज्यालै उज्यालो देखेकी थिएँ । त्यस्तो सुकिलो दिन त त्योभन्दा अघि देखेकै थिनँ । जिउ पनि कपासजस्तो हलुङ्गो भएको थ्यो । म साँच्चै खुसी भएकी थेँ त्यो दिन । त्यति खुसी मन र त्यति हलुका जिउ कहिल्यै पनि भएको थिएन नानी । ’

कर्किनी आमैको कुरो सुनेर म गम्भीर भएँ । निकै बेरसम्म उनको अनुुहारमा एकोहोरो हेरिरहेँ । त्यो बेला उनको अनुहार धपक्क बलेको थियो ।

छिमेकीहरुले कुरा काटे, ‘लोग्ने मरेपछि त लोग्नेका लुगाफाटाहरु नदीमा बगाइदिनुपथ्र्यो नि । तर कर्किनीले लोग्नेले मर्दा लगाएको लुगासमेत घरमा थुपारेर राखिछन् । साह्रै नकाम गरिन् ।’

‘किन राख्नुभएको लोग्नेका लुगाहरु ?’ मैले फेरि सोधेँ । उनले मेरो यो प्रश्नको पनि जवाफ दिइनन् । हाँसेरै टारिदिइन् ।

त्यसपछिका दिनमा उनी एक्लै भइन् । तर, एक्लो भए पनि अति सुखी र अति खुसी भइन् । पहिले कहिल्यै नदेखिने मुस्कान उनको अनुहारमा देखिन थाल्यो । अब उनलाई आफ्नो एक्लोपन आत्मीय लाग्न थालेको थियो ।

घरसँगै जोडिएको थियो उनको सागबारी । तर त्यो बारी उनको आनोे थिएन । धेरै वर्ष उनले काम गरेका घरका मालिकले ’खनीखोस्री खा‘ भनेर दिएका थिए । त्यही बारीमा लगाएको सागपात बेचेर उनी आफ्नो पेट पाल्थिन् ।

उनी सबैलाई भन्ने गर्थिन्, ‘धेरै हन्डर खाएँ । कति हो कति दुःख पाएँ । तर अहिले सारै खुसी छु । अब मेरो एउटै प्रार्थना छ । भगवान्ले यही बारीमा कोदालो खन्दाखन्दै टपक्क टिपेर लगुन् मेरो सास ।’

नभन्दै एक दिन बारीबाट फर्केर घरमा गएपछि फेरि फर्केर आइनन् उनी । दिनभरि कर्किनी घरबाट ननिस्केपछि केही छिमेकीलाई शङ्का लाग्यो । छिमेकीहरुसँगै म पनि उनको घरमा गएँ । ढोका भित्रबाट लागेको थियो । नजिकको चौकीको पुलिस, वडा अध्यक्ष, गाविस सचिव र छिमेकीेहरुको रोहबरमा उनको घरको ढोका फोडियो ।

कर्किनी आमै आफ्नो खाटमा चीरनिद्रामा परिसकेकी रहिछन् । सबै जिल्ल पर्यो। जिल्ल पर्ने अर्को कारण पनि थियो । उनको कोठाभरि लोग्नेका लुगाफाटाले बनाएका पुतलीहरु थिए । जताततै पुतली नै पुतली । सयौँ पुतली । कोठामा लोग्नेका लुगाहरु अझै बाँकी थिए । तर, कुनै पनि सद्दे थिएनन् । सबै च्यातिएका । सबै धुजाधुजा पारिएका थिए । मानौँ उनले वषौंदेखि लोग्नेका तिनै लुगाहरुसित रिस फेरिरहेकी थिइन् ।

साहित्यकार सुवेदीको हालै सार्वजनिक भएको कथा संग्रह ‘सयौं पुतली’बाट लिइएको हो ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १०:०६ मा प्रकाशित

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

लघुकथा : बिजुली

लघुकथा : बिजुली

डा. विदुर चालिसे, काठमाडौं ‘हैरानीको पराकाष्ठा !’ गुप्तबहादुर सरासर ट्राफिक...

लघुकथा : घाउ

लघुकथा : घाउ

सुरेश कुमार पाण्डे, दाङ घोराही हेर्दाहेर्दै घर गार्लामगुर्लुम ढल्यो ।...

लघुकथा : जुक्ति

लघुकथा : जुक्ति

अनुराग अरुण,ललितपुर जङ्लको छेउको यौटा घरमा बुढाबुढी मात्र बस्थे ।...