५ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने भएको छ । भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ ।
सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमीन पानीको अभावले बाँझै रहेको थिए । सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ सञ्चालनमा आउन लागेको हो ।
हाल आयोजनामा करीब २० लाख खर्च भने भइसकेको विदुर –४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । “ हाम्रो यस ४ नम्बर वडामा पानीको दुःख थियो, पिउनलाई पनि पानी अभाव नै थियो भने अब खेतीपाती लगाउनलाई त सोच्नै सकिएन । त्यस समस्यालाई नै मध्यनजर गर्दै सिंचाइका लागि केन्द्रीय बजेटमार्फत भए पनि नागरिकलाई पानीको व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा राखेर नै यो कामको थालनी गरेका हौँ ”, उनले भने ।करीब दुई सय रोपनी जग्गा बाँझो रहेकामा अब आयोजनाको काम २०७६ को पहिलो चौमासिकमै सकिने उद्देश्य भएको जनाइएको छ ।
वडा कार्यालय–४ का अनुसार आयोजनामा पानी जम्मा गर्ने ओभरहेड ट्यांकी स्थापना, पाइप लाइन विस्तारलगायत काम रहेको बताइएको छ ।
वि.सं.२०७६ जेठ ५ आइतवार १६:४३ मा प्रकाशित