
१५ जेठ, काठमाण्डौं । धादिङको थाक्रे गाउँपालिकामा पर्यटक बस दुर्घटना हुँदा बस चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सुनौलीबाट काठमाण्डौं आउँदै गरेको बा १ प १३६३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका १ को खयरघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको र अन्य १५ जना घाईते भएको धादिङ प्रहरीले जनाएको छ ।
सुनौलीबाट काठमाण्डौ आउँदै गरेको उक्त बस काठमाण्डौंबाट केरुङ जान हिँडेको कन्टेनरसँग ठोक्किएर २०० मिटर तल खोलामा खसेको छ भने कन्टेनर सडकको कुनामै पल्टिएको धादिङ प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले संसारन्युजलाई बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा बसमा १६ जना रहेकोमा १ को मृत्यु अन्य १५ जना सबै घाईते भएका छन । १५ जना मध्ये गम्भीर घाईते भएका ८ जनालाई काठमाण्डौं उपचारका लागि पठाइएको पनि डिएसपी विष्टले जानकारी दिए ।
विष्टका अनुसार ८ जना गम्भीर घाइते, ४ जना मध्यम घाईते रहेका छन् भने २ जनाको महादेववेशीमा उपचार भइरहेको र १ जना सामान्य उपचारपछि फर्किएका छन् ।
बस सडकबाट २ सय मिटर तल महेशखोलामा खसेको थियो । प्रारम्भिक अनुसन्धानमा बसका चालक लम्जुङका हरि न्यौपाने भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ जेठ १५ बुधवार १७:०२ मा प्रकाशित