हरेक पटक
बुद्धवाणी सुन्ने आश गर्दै
एक हुल जन्ती बोकेर ऊ
निस्कन्छ तीर्थयात्रा ।
उसको ईश्वर
नन्दीभृङ्गीलाई स्वागतार्थ खटाउँछ
लगेर मन्दिरभित्र
चकटीमा बसाएर उसलाई नङ्ग्याउँछ
फकाईफकाई, हँसाईहँसाई नङ्ग्याउँछ ।
उसको अभिमानले अन्धो आँखा
यी सबैलाई स्वागतका तुल देख्छ
अमृतरुपी पुष्पवर्षा सम्झन्छ
र
नाच्छ नाङ्गो नाच
गाउँदै सुमधुर गीत
‘म राष्ट्रवादले झाङ्गिएर आएँ,
म सग्लो गएँ नाङ्गिएर आएँ ।’
नयाँ तन्त्रविद्या जानेको भ्रममा
नाङ्गो शरीर बोकेर फर्कन्छ घर
उसको भस्मे अनुहार देखेर
तर्सन्छन् दुधेबालकहरु
काउकुती मान्छन् युवायुवतीहरु
आँखा चिम्लिन्छन् प्रौढहरु
थुकका बाछिटा वर्साउँछन् वृद्धवृद्धाहरु ।
उसको अभिमानले अन्धो आँखा
यी सबैलाई स्वागतका तुल देख्छ
अमृतरुपी पुष्पवर्षा सम्झन्छ
र
नाच्छ नाङ्गो नाच
गाउँदै सुमधुर गीत
‘म राष्ट्रवादले झाङ्गिएर आएँ,
म सग्लो गएँ नाङ्गिएर आएँ ।’
उसँगैको एक हुल जन्ती
फर्कँदा सिङ्गै देशको मलामी बनिसक्छन्
तर पनि उ
आफूलाई बेहुला ठानिरहन्छ
एक नग्न बेहुला ।
वि.सं.२०७६ जेठ २५ शनिवार ०९:४२ मा प्रकाशित






























