२५ असार, राष्ट्रसंघ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साताहान्तमा भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन् ।
राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताए ।
हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले केही हप्तादेखि तीब्ररुपमा वृद्धि भएको हिंसात्मक आक्रमणबाट बालबालिकाको मृत्यु हुनेक्रम एकाएक बढेको बताए ।
विज्ञप्ति जारी गर्दै उनले व्दन्दरत सबै पक्षलाई हिंसात्मक घटनाबाट बालबालिकालाई सुरक्षित गर्न आग्रह गरेका छन् ।
सन् २०१८ को सेप्टेम्बरमा रुस र टर्कीले उत्तर पश्चिमी सिरियाको इडलिबमा युद्धविराम गराउन मध्यस्थता गरेका थिए । यो क्षेत्र विद्रोहीको अन्तिम तर सबैभन्दा ठूलो क्षेत्र हो ।
सरकारी फौज र विद्रोहीले पछिल्लो समय उक्त युद्धविराम उल्लंघन गरेका विवरण आउन थालेका छन् । युद्धविरामको उल्लंघनसँगै निहत्था नागरिक हिंसाको चपेटामा परेको मानव अधिकारवादी संस्थाले जनाएका छन् ।
वि.सं.२०७६ असार २५ बुधवार ०९:५२ मा प्रकाशित






























