
मानव बेचबिखन नेपाली समाजको गम्भीर सामाजिक समस्या बनेको छ । यो समस्या पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । यसको न्यूनीकरणका लागि चुनौतीहरू थपिएका छन् । पहिलाभन्दा अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ ।
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिला तथा बालबालिकाहरूमात्रै बेचबिखनको जोखिममा पर्ने गरेको अवस्था थियो । अहिले आएर शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।
वर्षेनी महिला तथा बालबालिकाको बेचबिखन बढ्दो छ । उनीहरुलाई विभिन्न बहानामा एसियादेखि ल्याटिन अमेरिकासम्म पुर्याइएको छ । एसियाको मलेसिया, इण्डोनेसिया, अफ्रिकाको केन्या, युगाण्डा र मध्यपूर्वका देशहरूमा एवम ल्याटिन अमेरिकाको ब्रजिलसम्म पनि बेचिन पुगेको अवस्था छ ।
नेपाल प्रहरीको अभिलेख अनुसार “२०७१ र ७२ मा १८१, २०७२ र ७३ मा २१२, २०७३ र ७४ मा २२७ र २०७४ र ७५ मा २६८ जना मानव बेचबिखनमा परेको देखिन्छ । यो तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा बढी महिला नै पीडित हुने गरेको पाइन्छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको आकांक्षा बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ । वैदेशिक रोजगारीका नाममा लैजाने तर प्रक्रिया नपुर्याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेको स्थिति अदालतमा आउने विभिन्न मुद्धाहरुबाट पनि देखिएको छ ।
विकसित देशहरूमा लैजाँदा पनि पेपर म्यारिजको बहानामा स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा र विभिन्न सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम त्यत्तिकै रहेको छ । कम मेहनतमा सुखी जीवनको अभिलासा र राम्रो लगाउने, मीठो खाने र समाजमा केहि गरेर देखाउनुपर्ने कथित लालसाको प्रवृत्ति बढ्दै जाँदा यस्तो भएको हो ।
यस सन्दर्भमा मानव बेचबिखन सम्बन्धी अपराधलाई नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले भैरहेका प्रयासहरुलाई दोब्बर पार्दै थप प्रभावकारी कार्य योजना ल्याउनु आवश्यक छ ।