६ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई विना कारण प्रहरीले म्याद थपिरहेको बताएका छन् ।
रिपोटिङका क्रममा जिल्ला प्रशासन कार्यालय चितवन पुगेका पत्रकार टेकनारायण भट्टराईले आफूले रविलाई अंकमाल गरेको, दुवैजना नर्भस भएको र भट्टराईले केहीबेर घोप्टेमुन्टो लगाएर निहुरिएको तथा र रविको पनि मलिन अनुहार रहेको बताएका छन् ।
भट्टराईसँग रविले आफूलाई विना कारण म्याद थपिरहेको बताउँदै एसपी दान बहादुर मल्ललाई इंगित गर्दै भनेका छन्, ‘उहाँको इन्भेष्टिगेशनलाई मैले मान्नु पर्ने भयो के थाहा उहाँले मलाई त मार्नपनि सक्नु हुन्छ नि, किनभने म विरुद्धै देखियो, अरु त केही देखिएन । गाइडेड मेन्टालिटी देखियो कि देखिएन । सरकारी प्रमाण चोर्ने दान बहादुर चाहि मेरो यहाँको हाकिम भएर बस्नुभएको छ, उहाँको मातहतमा, उहाँको घरभित्र म सुरक्षित छु ?’
रविले अस्मिताले आफू र पुडासैनीलाई रवि र युवराज कँडेलले चिनाएको होइन भनेर अदालतमा भनिसकेको बताउँदै यसमा आफ्नो संलग्नता नभएको एक मिनेटमा पृष्टि भएको बताएका छन् । ‘त्यो सबै स्पष्ट भइसकेर पनि यसलाई लिंगरिङ गर्नुको अर्थ के हो ?’
उनले आफूलाई समाउने क्रममा हत्या या आत्महत्या भन्ने क्लियर नभएको र उनीहरुको मक्सद आफूलाई समाउने रहेको बताउँदै भनेका छन्, ‘जसले अनुसन्धानका क्रममा रहेको भिडियो सरकारी फाइलबाट चोरेर या त्यसलाई निकालेर दिइयो, कसले दियो, दान बहादुरजीले दिनुभयो, उहाँले म सँग छ है मैले राखेको छु हैं, फुली लाएर बर्दिमा भन्नुभएको हो, उहाँले नदिएको भए सर्वेन्द्रजीले दिनुभयो, उहाँले रिर्पोट गर्ने त सर्वेन्द्रजीलाई होला, अथवा उहाँको फरेन्सिक ल्याव होला, उहाँले दिनुभयो नि त मेरो हिसावमा । उहाँले दिनुभयो भने उहाँमाथि छानविन किन नहुने ? उहाँको अन्डरमा भएको इन्भेष्टिगेशनलाई मैले विश्वास गर्ने ? विनाकारण मलाई म्याद थपिरहनुभएको छ । अब उहाँको इन्भेष्टिगेशनलाई मान्नुपर्ने भयो मैले, के थाहा मलाई त उहाँले मार्नपनि सक्नुहन्छ नि । जे पनि गर्न सक्नुहुन्छ नि, भाग्न खोज्यो भने हान्दिए नि भयो ।’
वि.सं.२०७६ भदौ ६ शुक्रवार १६:३८ मा प्रकाशित






























