आइमाईको,
बुद्धि,घुच्चुकमा
रिस, नाकको टुप्पोमै हुन्छ
अलिकति गलत भन्यौ कि महाशय
यतीबेला मेरो रिस
नाकबाट सर्वाङ्ग फैलिदै फैलिदै
पाखुरीमा एकत्रित भएको छ
छताछुल्ल पारेर
फोडौ झै भाछ रिसको घडा
तोडौ झै भाछ
त्यो विभेदको जञ्जिर
जसले जकड्यो मलाई युगौ युग
कुसंस्कारको बोझिलो नेलमा
र म बनाइए
अघोषित दासी
जन्मदा त
मेरो पनि बुद्धि शिरमै थियो
जब शुरू भो मडारिन
उमेर सँगसँगै
छोरी हुनुको
असुरक्षित कालो बादल
मेरो शिरमाथि
र
बर्सिए अन्धविश्वास र रूढिका असिना
त्यसै प्रहार हो
धुँजाधुँजा भएका
मेरा सबै रहर र उत्कण्ठा
त्यत्रो प्रहारले पनि
घुच्चुकमै सही
धन्न बचेछ
मेरो सोच्ने क्षमता
यसरी बचेको थोरै चेतना खर्चेर
तिमीलाई सोद्धै छु महाशय
तिमीलाई पनि
यस्तै परिवेशले बेर्दो हो त
कहाँ हुँदाहुन तिम्रा रिस र बुद्धि ??
तिमीलाई पनि
मलाई अहिले ऊठे झै
रिस उठ्दो ??
वा नउठ्दो हो ???
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:१० मा प्रकाशित





























