जब कोर्छौ उन्मादको सलाई
सल्काउँछौ मेरो बदन
तब तिम्रा बलिष्ठ औँलाहरु बिच च्यापिएर
ती अधरमा टाँसिन
खुब मन पर्छ मलाई
साँच्चै जन्मिरहुँ म
मै भएर पाठेघरहरुको कारखानामा
रङ्गिन आवरणमा सजिएर
आइपुगुँ तिम्रै खल्तीमा
सल्किउँ बैँशका रापभित्र दनदनी
फैलिउँ तिम्रै सानिध्यमा
धुँवाहरुको सुगन्ध
तिम्रो प्रेमको आलिङ्गनमा
सल्किँदै सल्किँदै
निखार्न सकुँ
चरम सुखको पल
सल्बलाएका तिम्रा ताता ओठहरुको चुम्बनमा
पग्लिँदै पग्लिँदै
बहन सकुँ
तिम्रो अङ्ग अङ्गमा तरङ्गित भै
प्रत्येक चुम्बनमा छचल्कियोस्
अतृप्त प्यास
छचल्कियोस तिर्सना का उच्छवास
त्यही उच्छवासमा सल्किँदै सल्किँदै
चरम सुखानुभुतिमा
समाप्त होस्
मेरो अस्तित्व ।
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:१५ मा प्रकाशित





























