रात भासिन्दै जाँदैछ
एउटा प्वाँल आकाशमा छेड़ पार्दै
अनि जिन्दगी झर्दैछ
तप तप तप्कना सरह
भारी वर्षा हुँदैछ
आमा घूम ओडेर
सपना चिहाउँदै हिड्दैछिन्
चियाको मुना मुनामा
तर थाकेका छैनन्
चियाका थुम्काहरू
अझै आलो रगतहरू माग्दैछ
जिन्दगी मक्काउँदै
सन्तान हुर्किन्दैछ
मौनताभित्र अन्धकार
एउटा लाभा उमाल्दै
छाता खोज्दै भविष्यको
अतृप्त तृष्णाहरू छन्
देशको सिमानाहरू
अझै आहुति खोज्दैछन्
हाम्रै रगतको होली चहान्छ
तर माटोको रंगमा हाम्रो नाम छैन्
बरू मेटिन्दैछ पैतालाका डामहरू
पखुरेहरू हाँस्न छोडेका छैनन्
यहाँ आफ्नै भाग्य मेटाउँदै
कहिले पलाउने बुद्धि बङ्गरा
अनि चन्द्रमा कहिले दाइने हुने
काकले कहिले छोड्ने हाँसको देखासिकी
अनि आमाको थाप्लोले न्याय पाउँने
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:१८ मा प्रकाशित





























