आलै छ याद अघिका घरको अवस्था
खाद्यान भोजन जुटाउनको व्यवस्था
एले अहो ! कति छिटै चुलियो उचाइ
खोले तरेपछि भुल्यौ लहुरै कि दाइ !।।१।।
तिम्रो अतित अझ आउँछ दृष्टि सामु
छाया झलक्क अघि भोगिरह्यौं पुरानो
फोडेर छप्पर दिँदो र’छ भाग्य आई
खोले तरेपछि भुल्यौ लहुरै कि दाइ !।।२।।
बाँडी हिड्यौं सरस सरसका सपना उज्याला
विश्वासमा फँसिगए म-त-दान वाला
लिस्नो बने सहज ढाड चढ्यौं सुताई
खोले तरेपछि भुल्यौ लहुरै कि दाइ !।।३।।
खम्बा तिनै जग बसाउन राजनीति
पाल्सी रहेछ उनकासित भोट–गीति
पीडा अभाव दुख गाउन सवाई
खोले तरेपछि भुल्यौ लहुरैं कि दाई !।।४।।
थर्काउथ्यौं सदन भाषणले म भर्छु
काठ्माण्डु ल्याउँन यतातिर लागिपर्छु
फुर्ती कडा वचन खैं ? कि लुक्यौं डराई
खोले तरेपछि भुल्यौ लहुरैं कि दाई !।।५।।
थैली खन्याउँछ बजेट छरेर भर्छु
स्वर्गै बनाउँछु विकास निमित्त मर्छु
हुंकार फुर्फुर धमास गए हराई
खोले तरेपछि भुल्यौ लहुरैं कि दाई !।।६।।
यौटा युवा–तरुण शिक्षित शक्तिशाली
बेकार जागिर बिना रहँदैन खाली
खै व्यर्थको चुरीफुरी हुटिट्याँ–कराई ?
खोले तरेपछि भुल्यौ लहुरैं कि दाई !।।७।।
काजी कि वा सुन भन्यौं दिलले अँगाल्यौं
प्याजी रह्यौं लसुनको मनबाट फाल्यौं
कालो रहेछ हृदयै चिनियो नि दाइ !
खेद्छौं अवश्य बुझ त्यो लहुरै समाई ।।७।।
सुनाखरी-कविता संग्रहबाट लिइएको
वि.सं.२०७६ भदौ २८ शनिवार ०८:४१ मा प्रकाशित






























