तिमीले भन्यौ-
अयोग्यहरूलाई योग्य काम दिने
यो आरक्षण भन्ने कुरा खारेज होस !
मेरो पनि भन्नु छ –
सवैभन्दा बढी आरक्षणको उपयोग
मात्र तिमीले गरिरहेका छौ
तिमी सोधौला, कसरी ?
ल सुन म भन्छु –
प्राय मन्दिरको पूजारी कुन जातको छ ?
संस्कृत विद्यापीठका प्राचार्य कुन जातका छन् प्राचार्य र शिक्षक मात्र होइन
विद्यार्थी पनि कुन जातका छन् ?
सुन , अझै सुन –
यो देशमा दुई सय पचास वर्ष
किन एउटै जातको राजा भयो ?
अझ किन एउटै वंशको भयो ?
अझ किन छोरो मात्रै भयो ?
अझ किन जेठो मात्रै भयो ?
के यो आरक्षण थिएन ?
अझै सुन्छौ ? लौ सुन –
दुई सय पचास वर्षदेखि
किन कुनै प्रधानमन्त्री एकै जातका भए ?
किन प्रधान सेनापति एकै जातका भए ?
मूख्य सचिव, प्रधान न्यायधीश
किन खास जातका मात्रै भए ?
फेरि सुन –
तिमीले लगाउँने कपडा सिलाउँने
किन दमाई मात्रै भयो ?
तिमीले लगाउँने जुत्ता सिलाउँने
किन सार्की मात्रै भयो ?
तिम्रो घरको हँसिया अर्जाप्ने
किन कामी मात्रै भयो
तिम्रो आँगनको सिनो फाल्ने
किन चमार मात्रै भयो
हजारौं वर्षदेखि
पढ्ने र पढाउँने एक्लो ठेकेदार
किन ब्राम्हण मात्रै भयो ?
ओ आरक्षणका विरोधी महोदय
भात पकाउँने भाँडा माझ्ने
तिम्रो वैवाहिक नोकर बन्ने काम
किन आइमाईको मात्रै भयो ?
बिर्ता बक्सिस पाउँने अधिकार
किन तिम्रो मात्रै भयो ?
तिमीले कव्जा जमाएका स्थानहरूमा
किन रोकियो हामीलाई
खुल्ला प्रतिस्पर्धा गर्न ?
विज्ञानको कुन शाखाले भनेको छ –
खास जातका मान्छे
विद्वान हुन्छन्
खास जातका मान्छे
बहादुर हुन्छन्
र खास जातकाहरू
जन्मदै अयोग्य हुन्छन् ?
ओ जन्मजात योग्य महासय
मेरा प्रश्नहरूको जवाफ लेख्न
एउटा विज्ञप्ती दिने हो कि ?
२०७६|०५|३१
भक्तपुर
वि.सं.२०७६ भदौ ३१ मंगलवार १७:४५ मा प्रकाशित





























