विगत, वर्तमान र भविष्यसंग
बिल्कुल अपरिचित
जिविकाको कार्यक्षेत्रमा
नियुक्ति लिएर आएको
त्यो, समकक्षी पुरुष !
मेरो भावनासंग परिचित हुन खोज्छ
अप्रत्यक्ष रुपमा मेरो निगरानी राख्छ
अनेक चारो फाल्छ !
जिन्दगीका चारघुम्ति पार गरिसकेको
कर्तब्य र समस्याले खुम्चिदै गएको अनुहार
ती गिद्दे दृष्टिले पटकपटक बलात्कार गर्छ
सायद त्यो पुरुष ! अङ्ग अङ्ग नियाल्छ !
म सहजै अनुमान लगाउन सक्छु
उ भद्र कामुक हो !
उस्ले मलाई योजना र लक्ष्यमा प्रयास गर्दैछ
हर फुर्सदमा मौनताले डस्छ
म लामो समयदेखि सहिरहेको छु !
अन्जान बनिरहेको छु !
अब,
अब, म पनि बोल्छु, !
ए पुरुष !
आऊ, आज मलाई एकान्तमा
अलिकति समय देऊ
त्यो बालिष्ट तन ओछ्याइदेउ
त्यो छातिमा अडेसिएर
म एकफेरा ग्वाँ ग्वाँ रुन्छु
उठ !
तिमीलाई अंगालेर रुन्छु
मलाई धित मर्नेगरि रुदासम्म अडेस दिन्छौ ?
नारी हुनुको पीडा म भित्र कति छ
सुन ! सुन्छौ ?
तिमी जस्तै
पुरुषबाट धोका खाएर बाँचेको
स्मरण छ मसंग
आऊ अझै नजिक आऊ
म सबै कहानी बताउँछु !
ए पुरुष ! तिमी नारी चिन्दैनौ
बस्, नारीको शारीरिक बनावट मात्र चिन्छौ
पुरुष !
के तिमी स्त्रीसंग मित्रता जोड्न चाहान्छौ !?
आऊ एउटा अनुपम सम्बन्ध कायम गरौ
वास्ना विनाको
यौन विनाको
स्त्रीसंगको यो सम्बन्ध तिमीलाई स्वीकार छ !?
भन पुरुष !
तिमीलाई मेरो सर्त मंजुर छ !?
आखिर ! तिम्रो मेरो बाटो एउटै हो
के सक्छौ ? विना स्वार्थ मसंग मिलेर हिड्न
भन पुरुष ! भन !!
वि.सं.२०७६ असोज २५ शनिवार १२:३२ मा प्रकाशित






























