“कोकिल कण्ठ नव पालुवामा
गान गर्दै आएछ
भाषा मीठो लवज रसिलो
पान गर्दै आएछ
अग्ला अग्ला गिरिवर हेर
पार गर्दै आएछ
सुन्गाभा फूलका पवित्र तनमा
रङ्ग भर्दै आएछ
शिल्पी चोखो सृजन करले
सृष्टि गर्दै आएछ
इन्द्रेणी रङ्गका कुसुम डालीमा
दृष्टि छर्दै आएछ
छाँगा सेता झरझर यहाँ
कलकलाउँदै आएछ
प्रभात नौलो अनुपम खुसी
झलमलाउँदै आएछ
मुस्कान रेली पथ मञ्जरीमा
फुर्फुराउँदै आएछ
पराग छिरोली पवन् पंकजमा
हुर्दुराउँदै आएछ
जीवन ज्योति प्रबल मनका
टाकुरामा आएछ
ताल्चा खोली शीत बिन्दु श्रमका
पाखुरामा आएछ
छोडी बाटो त्यतै कतै शिशिरको
चौतारीमा आएछ
गाँसी प्रीति हरदम सदभावको
दौतरीमा आएछ
बाली आशा दियो दिव्य हृदयको
लहरमा आएछ
तिम्रै स्वागत खातीर हो कि कसो
सहरमा आएछ”
वि.सं.२०७६ असोज २५ शनिवार १३:०० मा प्रकाशित






























