यो याद साच्चै कस्तो याद ?
बिछोड़ संगै यो याद पनि बिलाई गए हुन्थ्यो,
बिछोड संगै यो याद पनि हराई गए हुन्थ्यो,
बिछोड संगै यो याद पनि अल्पि गए हुन्थ्यो,
किन किन अल्झी बस्छ आफै संग यो याद ।।
कल कल बग्ने खोला संगै
यो याद पनि बहाईदिन पाए हुन्थ्यो,
सर सर बहने पवन संगै
यो याद पनि पठाई दिन पाए हुन्थ्यो,
किनारमा पन्सेका बालुवा झैं
यो याद पनि पन्साइदिन पाए हुन्थ्यो,
किन किन गाडा बनी
मुटु भित्रै बसिबस्छ यो याद ।
दनदन बलेको आगोसँंगै
यो याद पनि जलाइ दिन पाए हुन्थ्यो,
होमको त्यो अग्निकुण्डमा चरुसंगै
यो याद पनि ॐ स्वाहा गर्न सके हुन्थ्यो,
मृत आत्मा झैं यो यादलाई पनि
चितामा दनदनि जलाउन पाए हुन्थ्यो
किन–किन जलन सल्कि सल्किरहन्छ
छाति भित्रै यो याद ।
क्षितिजपारिको त्यो घाम जस्तै
यो याद पनि डुबि गए हुन्थ्यो,
साउनको त्यो भेल संगै
यो याद पनि बगि गए हुन्थ्यो,
बादलको त्यो घुम्टोभित्रै
यो याद पनि बिलाई गए हुन्थयो,
किन किन छाया बनि आफैसँग
टोलाईरहन्छ यो याद ।।।
वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:४२ मा प्रकाशित






























