बाख्रीले विलौना गरेर रोएको देखेर मखमली फुलले सोधेछ–के भो सखी ? गहभरि आँसु लिएर भक्कानिदै भनि–मेरो प्यारालाइ दशैंमा काटेर खाए पापिहरुले । बाख्रीको कुरा सुनेर मखमली रुन थाली–ओहो ! दुखद खबर सुनायौं । सान्त्वना दिदै भन्छे – नरोउ सखी । मान्छेको जात निर्दयी अनि नम्बरी स्वार्थी हो । कुरा मिठा मिठा ठुला ठुला गर्छन । व्यवहारमा उल्टो । आफ्नो बाहेक अरुको पिर मार्का बुझ्दैनन् । जे भो भैगयो बिर्सिदेउ सखी । मखमलीको कुरा सुनेर बाख्रीले भन्छ–कसरी मन बुझाउँ सखी । झलझल प्याराको सम्झना आइ रहन्छ । चर्न मन लाग्दैन । मखमली भन्छे –त्यसो नभन । रोएर प्यारा आउने हैन । जसरी पनि मन बुझाएर अब बस्नु पर्छ सखी । मलाइ हेरन ! पोहर साल तिहारमा पापिहरुले मेरि आमालाइ चुडाएर लगे । अब मलाइ पनि चुडेर लान्छन । यी सब थाहा पाएर पनि म चिन्ता नगरेर हाँसेर बसेकी छु ।
एकदिन सबैलाइ मर्नु पर्छ । मान्छे कालले हामी अनिकालले मर्नु पर्छ । आखिर सबैको कर्मको लेखा जोखा उनै इश्वरले गर्ने हुन् । आँसु पुछ्दै बाख्रीले भन्छ–हो सखी ! यो मान्छेलाइ यस्तो सजाय दिनुपर्छ । फेरि कसैको हत्या गर्दा शय पल्ट सोंचोस् । कसैको हत्या गर्नु जघन्य अक्षम्य अपराध हो भन्ने बुझोस् । साँझ पर्न लागेकोले बाख्रीले भन्छ–जान्छु है सखी । भोलि भेटमला । मखमली भन्छे–के थाहा सखी ! यै हाम्रो अन्तिम भेट हुन सक्छ । तिहार आउनै लाग्यो । मलाइ चुडाएर लाने हुन कि ? भोलि मलाइ नदेखे दुःख नमान्नु है । किन कि हाम्रो जीवन यस्तै । बाख्री रुँदै खोर तिर लाग्छ ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:४८ मा प्रकाशित






























