मुखमा चपाउदै गरेको खाना गालाको चेपतिर जिब्रोले
घुचड्दै मेरो छोरीले सोधी–
आमा बलात्कार भनेको के हो ?
उसको शब्दले प्रहार भएको मुटु समाल्दै म बोलें
पहिला खाना खाउ न ।
थालमा भातका सिता औलाले खेलाउदै प्रश्नगरि
तपाईं बलात्कार हुनुभयो आमा ?
उसको निर्दोष अनुहारभरि मेरा नजर डुलेर
के–के, भने के–के ।
उसको टाउको सुम्सुम्याउँदै मैले भनें
म त बलात्कार भएको छु छोरी !
तर तिमी कहिल्यै बलत्कार हुन्नौ
म बोल्दै थिएँ
उसले फेरि प्रश्नगरि
कसरी ? कस्ले बलात्कार गर्यो आमा ?
छोरी !
मेरो विश्वाशमा बलात्कार भयो
म माथि न्यायमा बलात्कार भयो
मलाई बारम्बार शक्तिले बलात्कार गर्यो
छोरीको कौतुहलता नजरमा बोल्यो
तब मैले भनें–
यहाँ धेरै बलात्कार पहुँचले गर्छ, छोरी !
यहाँ बलात्कार पदले गर्छ ।
मान्छेले मान्छेलाई बलात्कार गर्दैन छोरी
मान्छेलाई त यहाँ सजाय हुन्छ
हामी कानुनी देशमा छौ ।
मेरो अनुहारबाट नजर हटाएर उस्ले खाना खान थाली
मेरो एघार वर्षे छोरीले के बुझिहोली खै ?
मलाई उसको प्रश्नले कोपिरह्यो
तपाईं बलात्कार हुनुभयो आमा ?
वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०३ मा प्रकाशित






























