धेरै समय भएको छैन साथी,
टुँडी टँडी फेरीको आवाज सँगै
घर घर चाहारेको ।
दैलो दैलो भीख मागेको,
दिएकै थिएँ मुठ्ठीदान त तिमीलाई
माना,पाथी,मुरी बनाई,
कत्रो इन्द्रासन बनायौ ?
शास्त्रीय बर्णनमा झैं,
कैलाशपति बन्यौ कि ?
बैकुण्ठपति बन्यौ ?
कार्तिक त फेरि आउँछ हैन र ?
होइन भने,
के कारण ठूलो ठान्छौ आफू ?
ठूलाको मापन भौतिक हुन्छ र ?
सँगै गुच्चा खेल्दा,
मैले मात्र दाऊ मार्दा
धुरुधुरु रुन्थ्यौ नि ।
माया लागेर,
चार गुच्चा पैंचो दिएको
समानान्तर नै हुन्थ्यो नतिजा,
योग्यताका परिधिहरुमा ।
दुखका दिनहरुमा
सँगै कन्दमूल खाएर हुर्केको
भावी सुखका कल्पना गर्दै,
नूनपानीमा रात काटेको ।
भुलेको छैन साथी
तर तिमीलाई,
केले विपरीत सोंच बनायो ?
तर साथी
अप्राप्य छैनन्,
हाम्रा आसनहरु ।
समानान्तर नै हुन् ।
समय त चक्र हैन र ?
के कारण ठूलो ठान्छौ आफू ?
के के नीति कानून थपायौ,
यताउता घुमायौ ।
घुम्न खोजिन तापनि,
रातारात भुङ्ग्रायौ ।
एकाएक तिम्रा ती नीतिहरुमा,
तुषारापात भयो,
बर्षात भयो, झरी पर्यो ।
भिजेर निथ्रुक्क,आँखा तर्यौ ।
आफै कपडा फेर्यौ ।
तर पनि साथी,
तिमी मेरो आत्मीय साथी नै हौ ।
छैन म मा गलत सोंच,
साथी, साथी नै हौ ।
फेरि पनि ती दिनहरु
आउँछन् जब,
दैला दैला चाहार्नु छ ।
नाथे पद मौसमी हुन्छ हैन र ?
होईन भने
के कारण ठूलो ठान्छौ आफू ।।
वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०४ मा प्रकाशित






























