‘प्रज्ञा’ सर्वाेच्च माने, मुलुकभरि हुने प्राज्ञले नै ठम्याए
प्रज्ञालाई विदेशी बुधजन सबले ‘उच्च हो’ जान्न पाए
यो संस्थाले गर्याे जे जति चयन यतिञ्जेल छन् वैध जानी
नाना शङ्का,गुनासो अब सब छ वृथा, छानियो,सक्किगो नि ।
होऊन् सण्डे-मुसण्डे कल छल बलका,वा बडा विज्ञ होऊन्
होऊन् शास्त्रार्थपारङ्गत कि त बढिया नीतिनिष्णात होऊन्
होऊन् क्वै ज्वाइँ, भेना,अनुज कि अनुजा, प्रीतवाली कि साली
नाताकै शृङ्खला होस्,विदुष कि विदुषी मानिए,सक्किगो नि ।
भाञ्जाभाञ्जी परून् वा श्वशुरकुलतिरैका परून् तीनपुस्ते
छानिन्छन् काव्यकर्ता विशद यदि भने पीर छोडून् अरूले
कर्ता भै राष्ट्रमूली स्मितमुख,दिलले अर्पिने माल्यरमाल
यै चाला लाग्छ उम्दारविकसित यदि ता गर्नु केको बबाल ?
आफ्नै हो सीप यद्वा,सहृदय कविको गोप्य हो त्यो लगानी
छुट्याईदिन्छ पक्कै पछि त समयको हंसले दूध–पानी
ऐले छापा÷सँगातीजनसँग खुश भै हौसिए भो मजाले
के गर्छन् प्राज्ञ सम्मानित कवि अहिले ? सोध्छ खोलाघरेले ।
छन्द-स्रग्धरा
वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०७ मा प्रकाशित






























